पुरोहित, ज्योतिषीलाई लाइसेन्स अनिवार्य

|

पछिल्ला वर्षहरूमा विभिन्न हिन्दु धार्मिक समूहमाथि पुराणको आधारभूत ज्ञानसमेत नभएका व्यक्तिबाट कथावाचन गराइरहेको आरोप लाग्दै आएको छ। यसकारण धार्मिक कर्मकाण्ड गर्न, ज्योतिषी सेवा दिन तथा पुराणवाचन गर्न आधिकारिक अनुमतिपत्र अथवा ‘लाइसेन्स’को व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ।

यो विषयमा धेरै दबाब आएपछि नेपाल पञ्चांग निर्णायक विकास समितिले सोही किसिमले काम थालेको छ। यसका लागि समितिले आवश्यक कानुनी व्यवस्था गर्न लागेको समिति सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

‘ज्योतिषी, कर्मकाण्ड गर्ने पुरोहित र पण्डितहरूबाट जनताले जे सेवासुविधा पाउनुपर्ने हो, त्यो नपाइरहेको अर्थात् उनीहरू ठगिएका हुन् कि वा शास्त्रअनुसार ज्योतिष–कर्मकाण्ड चलेको छ कि छैन भनेर हेर्नुपर्ने अवस्था छ,’ ढुंगेलले भने। यी कार्य सँगै आधिकारिक हुन् कि होइनन् भन्ने अवस्था छुट्याउनुपर्ने देखिएको पञ्चांग निर्णायक विकास समितिले महसुस गरेको छ।

जुनसुकै पेसा–व्यवसायमा रहेका व्यक्ति वा संघसंस्थाको आफूले आर्जन गरेको सम्पत्तिको केही अंश राज्यलाई दिनुपर्ने दायित्व नै हुन्छ। तर, धार्मिक कर्मकाण्ड गर्ने पुरोहित त्यसको दायरामा आएका छैनन्। उनीहरूले गराउने धार्मिक अनुष्ठानबाट आयआर्जन नगरेका पनि होइनन्। केही हजारदेखि लाखौं–करोडौंसम्म मासिक रूपमा आर्जन हुने गरेको स्वयं कर्मकाण्ड गर्ने पुरोहितहरू बताउँछन्। त्यस्तो अवस्थामा उनीहरूलाई समेत करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

‘कर्मकाण्ड गर्नेहरूका छोराछोरी बाहिर विदेशमा पढ्न पठाउनुपर्‍यो। उनीहरूसँग करौडौं रूपैयाँ हुन्छ तर स्रोत देखाउन सक्दैनन्। कहाँबाट ल्याइस् भनिहाल्छ, कर तिरेको कुनै कागज छैन। श्राद्ध गर्दा, न्वारान गर्दा, अन्य कार्य गर्दा आम्दानी हुन्छ। उनीहरूलाई राज्यले करको दायरामा ल्याएको छैन,’ समितिका सदस्य सचिव ढुंगेलले भने।

कर तिर्ने बाटो नै नभएका कारण आफूले वैधानिक बाटोबाट कमाएको पैसाका सन्दर्भमा पनि राज्यबाट भयभित हुनुपर्ने अवस्था आएको ढुंगेलले बताए। कानुनको दायरामा बाँध्न सके सबैलाई फाइदा हुने उनको भनाइ छ। ‘करको दायरामा आएपछि ऊ सुरक्षित पनि हुन्छ। यो सबैलाई फाइदै फाइदा हुने कुरा हो,’ उनले भने ।

‘तर कर्मकाण्डीलाई लाइसेन्सको आवश्यकता चाहिँ किन पर्‍यो?’ भन्ने सवालको जबाफ दिँदै सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘वकालत पेसाका लागि लाइसेन्स चाहिने, डाक्टर, सवारीचालका साइसेन्स चाहिन्छ। गएको वर्षदेखि त इन्जिनियरको पनि लाइसेन्स सुरु भयो। यो त पितापुर्खा सबलाईै तार्नेलाई त विधिमा बाँध्नुपर्‍यो नि !’

धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न लाइसेन्सको व्यवस्था उपायका रूपमा देखिएको जानकारहरूको भनाइ छ। धार्मिक मर्यादा कायम राख्न पहिले प्रशिक्षण दिने र त्यसपछि मात्रै योग्यताको प्रमाणपत्र जारी गर्नुपर्ने आबाज केही समययता उठ्न थालेको थियो। ‘यस्तो हुनुपर्‍यो भनेर केही समयदेखि सबैतिरबाट आवाज उठिरहेको थियो। विभिन्न ज्योतिषी कर्मकाण्डीका सभा सम्मेलनहरूमा यी कुरा उठेका पनि थिए। त्यसकारण पञ्चांग निर्णायक समितिले यो कुरालाई अगाडि बढाएको हो,’ ढुंगेलको भनाइ छ।

भोलि राज्यले एउटा निकाय खडा गरेर हुन्छ कि सरकारले कसैलाई जिम्मा लगाएर हुन्छ कि सरकारले कसरी गर्न सकिन्छ पार लगाउन त ठुलै लगानी पनि चाहिन्छ होला। किनभने ठुलो विषय छ, ठुलो क्षेत्र छ। प्रस्तावका लागि तयार गरिन लागेको नियमावलीको पहिलो चरणमा कर्मकाण्डी, ज्योतिषीहरूलाई तालिम–प्रशिक्षण दिने कुरा उल्लेख गरिएको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

देशव्यापी रूपमा तालिम प्रशिक्षणको काम गर्ने र सबै सक्षम भएपछि मात्रै लाइसेन्सलाई दोस्रो चरणमा लैजाने कुरा भइरहेको समितिको भनाइ छ। त्यसअनुरूप पञ्चांग निर्णायक विकास समितिले केन्द्रमा प्रशिक्षणको कामसमेत सुरु गरिसकेको छ। त्यसबाट प्रशिक्षक तयार हुने अपेक्षा पञ्चांग निर्णायक समितिको छ। यो कुरामा ज्योतिषीहरूको एउटै मत रहेको सदस्य सचिव ढुंगेलले बताए।

हाल पुराणवाचक, ज्योतिषी र कर्मकाण्ड गर्नेहरूलाई लाइसेन्स दिने व्यवस्था मिलाउने प्रस्तावबारे छलफल भइरहेको र त्यसलाई चाँडै ठोस रूपमा अघि बढाइने समितिले जनाएको छ। पुराणवाचकका हकमा अहिले नै कुनै निर्णय लिइनसकेको पञ्चांग निर्णायक समितिले जनाएको छ। तर उनीहरूलाई समेत उक्त नियमावलीको दायरामा ल्याउने योजना छ।

यो विषयमा कुरा अगाडि बढे उनीहरूसँग छलफल गर्ने ढुंगेलको भनाइ छ। सबैलाई फाइदा हुने कुरा भएकाले सरोकारवाला सबैको सकारात्मक साथ रहने अपेक्षा गरेको उनी बताउँछन्।

‘राज्यलाई नि फाइदा व्यक्तिलाई नि फाइदा हुने विषय भएका कारण नकारात्मक कुरा आउँदैन। हामीले त प्रस्ताव पठाइदिने मात्रै हो, निर्णय गर्ने जिम्मा राज्यको हो, सरकारको हो। सरकारले कसरी सोच्छ, कसरी हेर्छ, आवश्यक ठान्छ कि ठान्दैन, त्यो पछाडिको कुरा हो,’ ढुंगेलले भने ।

सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार अहिले पनि यो विषयमा पञ्चांग निर्णायक समितिमा छलफल जारी छ। मस्यौदा तयार भइरहेको अवस्थामा केही थपघटको काम भइरहेको छ। ‘आगामी वर्ष २०८२ को पञ्चांगको काम एकै पटक मुखमा आएका कारण दुई तीन महिनादेखि पात्रो निर्माणमा अल्मलिएका छौं। यो साता उक्त काम सम्पन्न गरेपछि बल्ल त्यता लाग्छौं,’ ढुंगेलले भने।

समितिले देशैभरिका लागि अनुमतिपत्र जारी गर्ने प्रस्तावबारे छलफल अघि बढाइरहेका बेला पशुपति क्षेत्र विकास कोषले भने पाशुपत क्षेत्रमा छुट्टै अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको छ। तर परम्पराका रूपमा चलिरहेका यस्ता कार्यलाई लाइसेन्स लिएर नियमन गर्नु उचित नभएको र त्यसले थप समस्या निम्तिन सक्ने कतिपय संस्कृतिविद्को भनाइ छ । नागरिक

२०८१ माघ १४, सोमबार प्रकाशित