निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

|

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ।

रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेका थिए।

हिरासतमा रहेका रविलाई मङ्गलवार प्रहरीले अदालतमा उपस्थित गराएको छ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनलाई यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रहरीले पछिल्लो पटक कात्तिक ८ गते अदालतमा पेस गरेर प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति पाएको थियो । उक्त समय कात्तिक १४ गते सकिएको थियो । लगत्तै तिहार बिदा सुरु भएकाले उनी त्यसयता पनि हिरासतमै थिए । मङ्गलवार अदालत खुलेसँगै म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ। नागरिक

२०८१ कार्तिक २०, मंगलवार प्रकाशित