गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन ।
हरेक दुई÷दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौँ संस्करण आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई छ । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँको जिम्मेवारी गण्डकीले पाए पनि निर्धारित मितिमा सम्पन्न गर्न कोरोना बाधक बन्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत वर्ष रोकिएको राष्ट्रिय खेलकुद यस वर्ष गर्ने योजनामा छ । आगामी वैशाख÷जेठमा प्रतियोगिता गर्ने योजना सरकारको छ । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।
यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला÷पुरुष) बाग्लुङ, कराँते (महिला÷पुरुष) लमजुङ, टेवलटेनिस (महिला÷पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिला÷पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला÷पुरुष) गोर्खामा खेलाउने योजना छ ।