आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

|

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डकानुसार अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । उनले भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे ।

बोर्डको आँकडाअनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ७३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को अगस्टमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक ?

मार्चमा सबैभन्दा बढी एक लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अप्रिलमा एक लाख ११ हजार ३ हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । रासस

२०८१ भाद्र २०, बिहीबार प्रकाशित