डराउनुपर्दैन ओमिक्रोनदेखि, कम घातक भएको सङ्केत फेला

|

एजेन्सी । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले देखाएका छन् ।

विश्वभर त्रास फैलाइरहेको यो भेरियन्टबाट उति खतरा भने नरहेको प्रारम्भिक संकेत देखिएका छन् । प्रारम्भिक नतिजाले अन्य भेरिअन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरिअन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू मौ अस्पताल भर्ना हुनुपर्ने देखाएको छ । यसबाट जनमानसमा त्रास फैलिएजस्तो घातक नहुने संकेत देखिएको हो ।

तर ओमिक्रोनका सङ्क्रमितले अस्पताल भर्ना हुने दर न्यून रहे पनि यो एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा यसबाट जोगिनु नै उत्तम उपाय हो । धेरै मानिस संक्रमित भएमा अस्पतालमा भिड हुनसक्ने चिन्ता समेत व्यक्त गरिएका छन् ।

कोरोनाको यो पछिल्लो भरियन्ट ओमिक्रोनको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ । यसमाथि थप अध्ययनहरु भइरहेका छन् ।

हालै स्कटल्यान्डमा गरिएको एक अध्ययनमा कोभिडबाट कति मानिस बिरामी भए र उनीहरूमध्ये कतिजना अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ । त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्टजस्तै जोखिमपूर्ण हुने हो भने सयमा अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने हो तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ । यसले गर्दा ओमिक्रोनबाट खासै डराउनुपर्ने अवस्था नरहेको देखिएको छ ।

तर केही देशमा पछिल्लो समय कोरोना संक्रमणको लहर उत्कर्षमा छ । बेलायतमा बुधवार हालसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको थियो । त्यस दिन १ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको थियो ।

२०७८ पुष ९, शुक्रबार प्रकाशित