वर्षेनि २ लाखको अकबरे खुर्सानी दुवई निर्यात

|

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक किसानले एकै वर्षमा दुई लाख रुपैयाँको खुर्सानी विदेशमा निर्यात गर्न सकेकी छिन् । १५ वर्षदेखि व्यवसायिक कृषि कर्ममा लागेकी लेखानीको कादेशकी लालकुमारी पुनले दुई बर्षदेखि खुर्सानी निर्यात गर्न सफल भएकी हुन् ।

आर्थिक अवस्था कमजोर, सामाजिक रुपमा पनि उपेक्षामा परेकी पुनले कृषि कर्मबाट राम्रो कमाइ गर्न थालेपछि छिमेकीले सम्मान गर्न थालेका थिए । लगातारको मेहेनतपछि उनले वर्षमा १० लाख कमाइ गर्न थालेकी छिन् । अकबरे खुर्सानी मात्रै वर्षको २ लाख रुपैयाँ बराबरको दुवइमा पठाउन सफल भएको बताइन् ।

तत्कालिन कृषि विकास कार्यालयको सहयोगमा लेखानीमा कृषि व्यवसाय प्रवद्र्धन तालिम पुग्दा २०७० सालमा उनले सीप सिक्ने अवसर पाइन् । तालिम सकेर फर्कने बेला प्रशिक्षक कृषि अधिकृतलाई उनले तरकारी बिक्री नभएको गुनासो पोखिन् । त्यसपछि सदरमुकामको होलसेल पसलमा तरकारी पठाउने व्यवस्था मिलाइयो ।

महिलाले लगाएको भनेर उनकोे बारीको तरकारी बिक्री हुन्थेन । बजारमा पठाएको तरकारी दुइ दिनपछि गाउँमा आउँदा छिमेकीले मिठो मानेर खान्थे । लालकुमारीलाई आफ्नै उत्पादनलाई गाउँलेहरुले खाने बनाउन दश वर्ष संघर्ष गर्नुपरेको थियो । २०६५ देखिनै तरकारी फलाएर बेच्न सफल हुन उनले दशवर्ष कुर्नुपरेको हो । २०७४ देखि उनले नियमित तरकारी फलाएर बजारमा पठाउन थालिन् । गाउँमा पनि बिक्री भयो । वार्षिक ५ लाख कमाइ गरेकी उनी अहिले १० लाख कमाउँछिन् ।

पुनकोे फर्मबाट वर्षमा झण्डै ७ क्विन्टल अकबरे खुर्सानी दुवईमा बिक्री भएको हो । ‘मैले सोझै पठाएको छैन, बागलुङ बजारका अर्का व्यवसायीबाट ७÷८ क्विन्टल खुर्सानी दुवई पठाएको छु’ उनले भनिन्, ‘उहाँहरुले कति पार्नु भयो थाहा छैन, मैले प्रतिकेजी ३ सय रुपैयाँ हात पारेकी छु ।’ खुर्सानी विदेश पठाएर मात्र गतवर्ष उनले २ लाख कमाएको बताइन् । स्थानीय बजारको भने उनले छुट्टै हिसाब नराखेको बताइन् । पछिल्लो ५ वर्षदेखि पुनले प्लाष्टिक टनेलभित्र खुर्सानी फलाउन थालेकी थिइन् । तीन वर्षदेखि भने खुर्सानी विदेश पठाउन लागेको बताइन् ।

अकबरे खुर्सानी लगाउन थालेपछि सदरमुकामका होटलले उनको खुर्सानी मगाउने गरेका छन् । अघिल्लो दिन टिपेर राखेका पोका बनाएर होटलको नाउँमा पठाइदिन्छिन् । उनले मासिक खर्सानीको रकम उठाएर लैजाने गरेको बताइन् ।

उनको कमाइ देखेर छिमेकी पनि दंग छन् । शुरु शुरुमा ज्याला मजदुरीमा पनि नबोलाउने समाज अहिले उनैबाट काम सिक्छन् । कृषि पेशा गर्न चाहनेका लागि पुन आफै प्रशिक्षक बनेर सिकाउन जान्छिन् । कृषि उत्पादन बजार पठाएर उनले पैसा कमाउन थालेपछि परिवार र छिमेकीले हेर्ने दृष्टीकोण फेरिएको छ ।

खाली डाँडा भनेर चिनिने कादेशलाई उनकै पहलमा हरियाली बनाउन सकेकी छिन् । ‘पहिला खाली डाँडा भन्ने चिनिन्थ्यो, अहिले तरकारीको पकेट मानिन्छ’ वडा अध्यक्ष प्रमानन्द कंडेलले भने, ‘अहिले किसानको तरकारीले दैनिक गाडी भरिन्छन् ।’ पुनले ८ रोपनी जमिन भाडामा र २ रोपनी आफ्नो गरी १० रोपनी जमिनमा तरकारी खेती गरेकी छिन् । त्यस बाहेक तरकारीको बीउ समेत उत्पादन गर्न थालेकी छिन् ।
कृषि ज्ञान केन्द्रलेपनि उनलाई अगुवा र सफल व्यवसायिक किसान भनेर ५० हजार रुपैयाँको पुरस्कार तथा सम्मान समेत दिएको छ । ढोरपाटन

२०८१ भाद्र ५, बुधबार प्रकाशित