फिनल्यान्ड पुनः एकपटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ। विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो। यस वर्ष सार्वजनिक प्रतिवेदनमा पनि फिनल्यान्ड पहिलो नम्बरमा परेको छ।
योसमेत ऊ लगातार सातौं पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो। प्रतिवेदनको सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
विश्वमा सबैभन्दा बढी खुसी देशको सूचीमा नार्डिक देशहरू छन्। फिनल्यान्डका छिमेकी डेनमार्क, आइसल्यान्ड, स्विडेन सबैभन्दा बढी खुसी हुने विश्वकै १० देशभित्र परेका छन्। राजनीतिक अस्थिरताका कारण गम्भीर मानवीय संकटसँग जुधिरहेको अफगानिस्तान यो सूचीमा अन्तिम स्थानमा छ।
प्रतिवेदनअनुसार उत्तर अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका युवामा पछिल्ला दशकको तुलनामा खुसीको स्तरमा निकै गिरावट आएको र मध्य तथा पूर्वी युरोपका देशमा सबै उमेर समूहमा खुसीको स्तर बढेको देखिन्छ। खुसीको स्तर बढ्नुले ती देशमा सकारात्मक सामाजिक तथा आर्थिक परिवर्तन भैरहेको देखाउँछ। अर्काेतिर विश्वभर असमानता बढ्दै गएका कारण त्यसको असर खुसीको मापनमा समेत परेको देखिएको छ।
नेपाल र छिमेकी मुलुकको अवस्था
सन् २०२४ को विश्व खुसी प्रतिवेदनमा न्यूनतम १ देखि अधिकतम १० अंकसम्मको मापनमा ५.१५८ अंकसहित नेपाल ९३औं स्थानमा छ। नेपाल सन् २०२३ मा ७८औं, २०२२ मा ८४औ) र २०२१ मा ८७औं स्थानमा थियो।
उमेरगत हिसाबले खुसीको मापन गरिएको योे प्रतिवेदनमा ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७६आंै स्थानमा र ३० वर्षमुनिको उमेर समूहमा ९२औं स्थानमा परेको छ। यसको अर्थ नेपालमा युवाको तुलनामा प्रौढ अधिक खुसी छन् भन्ने बुझिन्छ। प्रतिवेदनले छिमेकी भारतमा पनि युवाभन्दा प्रौढ अधिक खुसी रहेको देखाएको छ।
समग्र खुसीको स्तरमा नेपालको गिर्दाे अवस्था रहे पनि दक्षिण एसियाली देशहरूमा भने पहिलो स्थान छ। खुसीको मापदण्डमा पाकिस्तान १०८आंै, भारत १२६आंौ, श्रीलंका १२८औं, बंगालादेश १२९ र अफगानिस्तान १४३औं स्थानमा छन्। भुटानलाई सूचीमा राखिएको छैन। यस वर्षको प्रतिवेदनमा १४३ देश समेटिएकोमा सबैभन्दा दुखी देशमा अफागनिस्तान सूचीकृत छ।
यो प्रतिवेदन तयार गर्दा सम्बद्ध देशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन, औसत आयु, सामाजिक समर्थन, उदारता, जीवन छनोट गर्ने स्वतन्त्रता र भ्रष्टाचारलाई आधार मानिन्छ। यस वर्षको प्रतिवेदनमा सामाजिक सजालको प्रभावलाई समेत समेटिएको छ।
यो प्रतिवेदन सयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क, अनुसन्धान संस्था ग्यालोप, अक्सफोर्ड वेलविङ रिसर्च सेन्टर र प्रतिवेदन तयारीका लागि गठित सम्पादन समूहले तयार गर्छन्।
सन् २०११ मा संयुक्त राष्ट्रसंघीय महासभाले सदस्य राष्ट्रलाई खुसीको मापन गर्न र उक्त तथ्याँकलाई सार्वजनिक नीतिमा प्रयोग गर्ने सम्बन्धमा प्रस्ताव अनुमोदन गरेपछि सन् २०१२ देखि यो प्रतिवेदन सार्वजनिक गरिँदै आएको छ।नागरिक