नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ ।
दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६–१६२७) पूर्वी किल्लाको राजा बनेका थिए । राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ ।
उनले समयसमयमा राइनासकोट पुुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन् । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन् । मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुग्ने गरेका छन् ।
शाहवंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुुन् । परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताए ।
राइनासकोटमा घरवासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उनले हाल यहाँका २० घरमा घरवास सञ्चालन गरिएको बताए । भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उनले बताए । “होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुुगेको छ”, उनले भने, “यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।” आफूहरूले २०७४ सालदेखि घरवास सञ्चालन गर्दै आएको बताउँदै गुुरुङले पर्यटकको बढ्दो आकर्षणले आँफूहरूलाई उत्साहित बनाएको बताए ।
राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घरवास सञ्चालन गर्न थालेका छन् । करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घरवास सञ्चालन गरिरहेको छ । त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घरवास सञ्चालन गरिरहेका छन् । पछिल्ला वर्षमा राइनासकोटमा घरवासमा बस्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको बताउँदै उनले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिए ।
घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । उक्त प्याकेजअनुसार घरवासमा आएका पर्यटकले पुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उनले बताए । प्योकजअन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको उनले बताए ।
राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको शालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए । आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवद्र्धन गरिने उनको भनाइ छ ।
ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्विक महत्वका गढीका कारण राइनासकोटको महत्व चुलिएको स्थानीयवासी एवम् पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु बताउछन् । २०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवद्र्धनलाई विशेषरुपमा जोड दिइएको उल्लेख गर्दै उनले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवद्र्धन र विकासमा विशेष जोड दिएको बताए ।
विभिन्न सञ्चारमाध्यमबाट समयसमयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढीरहेको उनले बताए । “सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्”, उनले भने, “यहाँको इतिहास । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ ।”
रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरीदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुुरुङ बताउछन् । पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा वसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको उनले बताए । पछिल्लो समयमा स्थानीयवासीहरू शहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उनको भनाइ छ ।
पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उनले जानकारी दिए । स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुनाटपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उनले बताए । “हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं”, उनले भने, “कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै शहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ ।” समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको उनले जानकारी दिए ।
ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउछन् । भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उनले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताए ।
राइनासकोटको पर्यटकीय प्रवद्र्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुगी घरवास तथा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवद्र्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताए ।
प्रवद्र्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताउछन् । “गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता (हेम) खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं”, उनले भने, “ पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्वपूर्ण छलफल भएको छ ।” यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्याउने बताए ।RSS