प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म हुने

|

पोखरा, १० माघ । पुन समाज नेपालले पुन दिवशको अवसर पारेर पहिलो पटक माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।

पुन समाज नेपालको केन्द्रीय कार्यालय पोखरा रामघाटमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । भलिबल प्रतियोगिता पुन समाज नेपालको पोखरा रामघाटस्थित खेलमैदानमा हुनेछ ।

प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा पुरुष, महिला तथा प्रौढ भलिबल खेल समाबेस गएिको समाजका महासचिव खिमन शेरपुजा पुनले बताए ।

प्रतियोगितामा विजेता पुरुष टोलीले नगद रुपैयाँ १ लाख ११ हजार १ सय ११, ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । उपविजेता हुने टोलीले नगद रुपैयाँ ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि हुने हरेक टिमले दर्ता स्वरुप रुपैयाँ ८ हजार दर्ता शुल्क बुझाउनु पर्नेछ ।

यस्तै महिला प्रतियोगिता भलिबल तर्फको विजेताले रुपैयाँ ६६ हजार ६ सय ६६ र उपविजेता हुने टोलीले रुपैयाँ ३३ हजार ३ सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएको छ । टीम दर्ताका लागि रुपैयाँ ६ हजार शुल्क लाग्नेछ ।

प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढहरुबीचको भलिबल प्रतियोगिता पनि समावेश गरिएको छ । यसको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेता हुनेले रुपैयाँ २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सहभागिताका लागि दर्ता शुल्क रुपैयाँ ५ हजार तोकिएको छ ।

समाजका महासचिव खिमन शेरपुजा पुनले प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई समावेश गर्न नपाईने जानकारी दिएका छन् । उनले सकेसम्म नयाँ पुस्ताका खेलाडीहरुलाई स्थान दिन र खेलमा हौसला प्रदान गर्न यसो गरिएको बताए ।

समाजले २०६३ साल माघ १५ गते म्याग्दी र पर्वतका ५४ गाउँका पुनहरुलाई औल गाउँमा भेला गराएर सम्मेलन गरी पुन सुधार समिति गठन गरेको थियो । सो दिनलाई ऐतिहासिक दिन भएको कुरालाई आधार मानेर हरेक माघ १५ लाई पुन दिवशको रुपमा मनाउदै आएको महासचिव पुनले बताए ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री राम पुनसहितको टोलीले खेल खेलाउने छ । कार्यक्रम समाजका केन्द्रीय सदस्य खम पुनको अध्यक्षतामा भएको थियो ।   सफल आवाज

२०८० माघ १०, बुधबार प्रकाशित