दमौली : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा बुधबार सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक रुपमा सम्पन्न खेलमा गलकोट ३–२ सेटले विजयी भएको हो । शुक्लागण्डकी नगरपालिका गत वर्ष सम्पन्न प्रथम ऋषिङ कपको विजेता हो । तर यसपटक शुक्लागण्डकीले द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो ।
स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइनलमा पुगेको थियो भने शुक्लागण्डकी भिमाद नगरपालिकालाई हराउँदै फाइनलमा पुगेको थियो ।
यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ।
जितसँगै गलकोट नगरपालिकाले नगद रु एक लाख ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय शुक्लागण्डकीले रु एक लाख नगद प्राप्त गरेको छ । तेस्रो हुने बिरुवाले रु ६० हजार र चौथो हुने भिमादले रु ३० हजार प्राप्त गरेको छ ।
विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा श्रेष्ठले विकास सँगसँगै खेलकुदलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए ।
मङ्सिर १८ गतेदेखि सुरु प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ टिमको सहभागिता रहेको थियो ।