
गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुण्ड्याइएका छन् ।
पोखराको इतिहासलाई तस्वीरका माध्यमबाट वर्तमान पुस्तामा जानकारी गराउने उद्देश्यका साथ तत्कालीन समयका फोटाहरू प्रदर्शनीमा राखिएको सुनिलले जानकारी दिए । “प्रदर्शनीमा साना तथा ठूला आकारका ३२ तस्वीर राखिएको छ”, उनले भने, “यहाँका तस्वीरले पुरानो पुस्तालाई तल्कालीन समयको पोखराको पुनःस्मरण गराउनेछ भने नयाँ पुस्तालाई तत्कालीन समयको जानकारी लिन मद्दत गर्ने विश्वास लिएका छौँ ।”
प्रदर्शनीमा राखिएको तत्कालीन समयमा खरले छाएका घरसहितको भैरव टोलको तस्वीरले काठमाडौँका श्रीरामसिंह बस्नेतलाई २०२९–३० सालतिरको पोखरालाई सम्झायो । “त्यो बेला पोखरामा खरले छाइएका यस्तै–यस्तै घर देखिन्थे”, सोमबार प्रदर्शनीस्थलमा पुगेका उनले तस्वीरतिर सङ्केत गर्दै भने ।
विसं २०३१ मा भत्किएको फेवा बाँधलगायतका तस्वीरले आफूलाई तत्कालीन पोखराको जीवन्त स्मरण गराएको उनले बताए । प्रदर्शनीमा आजभन्दा ५९ वर्ष पहिलेको पोखरा क्षेत्रको तस्वीर राखिएको छ । तस्वीरमा फाट्टफुट्ट साना झुपडीबाहेक बुट्यानहरूमात्रै देखिन्छ ।
प्रदर्शनीमा आउनेले तत्कालीन समयको विन्ध्यवासिनी मन्दिर उक्लने स्थानको पोखरी, ६० वर्षअघिका विद्यार्थीले पढ्दाको समयका दुःखकष्ट आदिलाई अभिरुचिपूर्वक नियाल्ने गरेका छन् । पृथ्वीनारायण क्याम्पस स्थापनाकालीन समयका तस्वीर, २०१९ सालको क्याम्पसको खरले छाएको झुप्रोजस्तै देखिने भवन, भैरवटोलबाट विभिन्न स्थानमा सामान लैजाँदै गरेका भरियाको लस्कर, फेवातालको बाँध फुटेपछि तालबाराही मन्दिरको छेवैमा पुुगेका गाडी तथा छेवैमा ओहोरदोहोर गरेका तीर्थालु, २०२०–२२ सालतिरको भैरवटोलको लामा चौतारा आदिका तस्वीरले जोकोहीलाई लोभ्याउने गरेको छ । बाटो कालोपत्र नभएको ढुङ्गाले छापिएको तत्कालीन पोखरा दर्शकहरूले नियालेर हेर्ने गरेका छन् ।
प्रदर्शनीमा विसं २०११ सालपछिका तस्वीर रहे पनि पोखरा स्थापनाको इतिहास निकै पुरानो छ । इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका तत्कालीन राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । गाई पाले पनि औलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो ।
विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६औँ शताब्दीयता पोखरामा बस्ती विकासको सुरुआत भएको सहजै अनुमान गर्न सकिन्छ । उक्त समयमा बाटुलेचौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको इतिहासमा उल्लेख छ । विकासका दृष्टिले भन्दा त पोखरा गाडीभन्दा पहिले जहाज आएको ठाउँ हो । पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो ।
पुराना फोटामार्फत तत्कालीन पोखरालाई चिनाउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउँदै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले ३०–४० वर्षकै अन्तरालमा पोखरामा आमूूल परिवर्तन भएको तस्वीरले सङ्केत गरेको बताए। Rss