कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु तीन लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । उनले भनिन्, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।”
उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेका छन्। छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाएकी उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेकी छन् ।
उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य रु चार हजार पर्ने बताइन् । कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी रु तीन सयदेखि रु एक हजार २०० होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताइन् ।
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ ।