पोखरा महानगरपालिका : सडक र चोकमा रहेका सालिक व्यवस्थापन गरिँदै

|

पर्वत : पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ।

गत शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण÷व्यवस्थापन गर्ने निर्णय गरेको हो।

सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण÷व्यवस्थापन गर्ने निर्णय गरियो।’ निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने छ।

पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ।

पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताएका छन्। ‘अहिले पोखराको ट्राफिक व्यवस्थापन समेत अरू कुरालाई ध्यान दिँदै अव सडकका बीचहरूमा सालिक राख्न सक्ने अवस्था छैन’, उनले भने, ‘यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पुरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्ने छ। पोखरा महानगरपालिकाले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजा सहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत हुनुहुन्छ।’ प्रमुख आचार्यका एक महिना भित्र आवश्यक छलफल तथा परामर्श गरी सालिकहरूको व्यवस्थापन गरिने छ। सालिकहरू व्यवस्थापनको विषय जित र हारको विषय हुनै नसक्ने समेत उनले बताएका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताउँछन्। विवादको शान्तिपूर्ण समाधानमा जोड दिएका  घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताए। राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिकहरू व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने प्रजिअ घिमिरेको भनाइ छ।

बैठकमा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा ऐक्यबद्धता जनाएका छन्। सडकको बीचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिएका छन्। सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताएका छन्।

तथ्य तोडमोड भयो : महानगरपालिका

नेपालका प्रथम सहिद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरका विषयमा आएका तथ्यहरूबाट भ्रम सिर्जना गर्न खोजिएको भन्दै महानगरपालिकाले त्यसमा ध्यानाकर्षण भएको बताएको छ।

सडक तथा चोकहरूमा रहेका सालिकहरू तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिक सहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापन÷स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएकोमा कतिपयले यस तथ्यलाई फरक तरिकाले व्याख्या÷विश्लेषण गरी जनमानसमा भ्रम सृजना गर्न खोजेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सीनाले बताएका छन्।

‘सालिक सहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापन÷स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ’, उनले भनेका छन्, ‘वि.स २०६४ वैशाख १८ गते मजदुर दिवस मनाउने क्रममा साबिक पृथ्वी चोकमा रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक तोडफोड भएपछि त्यसको  एक दशक पश्चात् पोखरा महानगरपालिकाले नै पोखरा १८ जामुनबोटमा सहिद तथा विभूति पार्क निर्माण गरी शाहको पूर्ण कदको सालिक पुनर्स्थापना गरिसकेको कुरा स्मरण गराइन्छ।’

महानगरभित्र बढ्दो जनघनत्व, ट्राफिक चाप र सहरी सौन्दर्यीकरणलाई ध्यानमा राख्दै सडकका सालिकहरू व्यवस्थापन गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न तथा यस विषयलाई लिएर भ्रमपूर्ण गतिविधिहरू नगरिदिन पोखरा महानगरपालिकाले अनुरोध गरेको छ।थाहाखबर

२०८० श्रावण २८, आईतवार प्रकाशित