पर्वत : पहिरोले विद्यालयको भवनमा क्षति पुग्नुका साथै अन्य भवन जोखिममा परेपछि जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालय समस्यामा परेको छ।
विद्यालयको भवन भन्दा करिब ५० मिटर माथि रहेको मोटर बाटोबाट आएको पहिरोले विद्यालयका तीन वटा भवनका तीन वटा कोठामा क्षति पुगेको तथा आठ वटा कोठामा जुनकुनै अवस्थामा थप पहिरो आउन सक्ने सम्भावना देखिएको प्रधानाध्यापक विष्णुप्रसाद शर्माले बताए।
पहिलो पटक गत असार १६ गते आएको भवनको पछाडिको भागबाट आएको बाढीसहितको पहिरोले क्षति गरेको थियो। सोही स्थानमा गत साउन २२ गते पुनः पहिरो आएपछि पहिरोको जोखिममा परेका भवनमा रहेका आठ वटा कक्षामा विद्यार्थी राख्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। क्षतिग्रस्त अवस्थामा रहेका कोठा र जोखिममा परेका भवनका कारण विद्यालयको आधारभूत तह (ईसीडी देखि आठ कक्षासम्म) अध्ययनरत २४० विद्यार्थी राखेर पढाउन समस्या भएको प्रधानाध्यापक शर्माले जानकारी दिए।
‘पहिले असारको १६ गते पहिरो आएर क्षति भएको भवनमा फेरि साउन २२ र २३ गते आएको वर्षाले थप क्षति भएको छ। पहिरोको छेउमा रहेका भवनका कक्षाकोठामा विद्यार्थी राख्ने सक्ने अवस्था छैन। मोटरबाट झरेको पहिरोले जुनकुनै बेलामा पनि भवनमा थप क्षति गर्न सक्छ’, उनले भने, ‘आधारभूत तहमा अध्ययनरत २४० जना छन्। तिनीहरूलाई कहाँ राखेर अध्यापन गर्ने भन्ने समस्यामा भइरहेको छ। तत्कालै व्यवस्थापन गरिहाल्न गाह्रो छ।’
क्षतिग्रस्त तथा जोखिममा रहेका भवनमा विद्यार्थी राख्न नमिल्दा दुईतीन वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा खाँदेर राख्नुपरेको तथा कतिपय विद्यार्थीलाई पुस्तकालयमा राखेर तत्कालीन व्यवस्थापन गरिएको विद्यालयका शिक्षक सन्तोष रिजालले बताए। तत्कालका लागि वर्षा थेग्ने गरी अस्थायी संरचना निर्माण गरेर भए पनि कक्षा सञ्चालनलाई नियमितता दिनका लागि जिल्लास्थित सरोकारवाला कार्यालयहरूमा अनुरोध गरिएको तर एकदुई दिनमा नै संरचना बनाउन समस्या हुने भएकाले विद्यालय समस्यामा परेको उनको भनाइ छ।
‘कक्षा नर्सरीदेखि आठ सम्मका सबै विद्यार्थीलाई तिनै भवनहरूमा राखेर अध्यापन गर्दै आएको थियौँ। आधारभूत तह सञ्चालनमा रहेका भवनमा पहिरो आएपछि त्यो तहको शिक्षणमा समस्या भएको छ। नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित भागको डिल भत्किएर तीन वटा कक्षाकोठा फर्निचरमा पनि क्षति भएको छ’, शिक्षक रिजालले भने, ‘तत्काल कक्षा सञ्चालन गरी करिब अढाइ सय बालबालिकाको पढाइ सुचारु गर्न तथा वर्षा रोकिएपछि पूर्ण क्षति भएको सो विद्यालय भवन यथाशक्य छिटो पुनः निर्माण गरी बालबालिकाको सुरक्षित भएर पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि सरोकारवाला निकायमा अनुरोध गरेका छौँ।’
विद्यालयका आठ वटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाई उपलब्धिमा असर पर्ने देखिएको छ। थापाठाना मावि फलेवास नगरपालिकामा नै सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालय हो। जिल्लाका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भइरहेको अवस्थामा यो विद्यालयमा भने अहिले पनि ५०० विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक शर्माले बताए।




