पर्वतमा नेपाली काँग्रेसको मतगणना केहिबेर अघि सम्पन्न भएको छ । निर्वाचनबाट युवराज जोशी ५१ दशमलब ५ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मंगलबार देखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान प्रक्रिया सकिएर मतगणना शुरु भएपनि विहिबार राति मात्रै मतगणना सम्पन्न भएको नतिजा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मत मध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गर्नु भएको छ भने निकटम प्रतिद्वन्दी यामबहादुर मल्ल रामकृष्णले ४ सय ४९ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेपनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो ।
निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार उपसभापतिमा डाक्टर चुडामणी शर्मा, र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । सचिवका प्रत्यासी मोहन आचार्य अन्तिम सम्म बलियो प्रतिस्पध्र्रीका रुपमा देखिएपनि अन्तिम परिणाममा उनी पराजित भएका हुन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भूसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् ।
कार्यसमितिको परिणाम घोषणा लगत्तै निकटम प्रतिद्वन्दी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । निर्वाचित सभापति जोशीले आगमी दिनमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूणर् भूमिका हुने बताउनुभएको थियो ।
|
२०७८ मंसिर १०, शुक्रबार प्रकाशित