बढ्यो पोखरामा प्याराग्लाइडिङ उडानकाे शुल्क

|

पोखरा, १५ असार । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ ।

यही कारणले खर्च बढेको भट्टराईले बताए। अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको रु छ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए। उनले भने, “पहिला रु तीन हजार नौ सय पाउँथे ।” नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् ।

तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए। रासस

२०८० असार १५, शुक्रबार प्रकाशित