बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।
“आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर वर्षौँदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ”, उनले भने ।
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन् ।
पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । रासस




