
म्याग्दी : शिरानमा दाङ खोला। थाप्ले पहाडको काखमा छ अलिकति समथर मैदान। अलि वल्थिर हाडिस खोला। वरिपरि रूखैरूख। बीचमा छ देख्दै आश्चर्य लाग्ने रातो (रगत जस्तो) रङको पानी भएको अनौठो गाइखर्क ताल।
सामान्यतया रंगविहीन हुन्छ पानी। पानी जमेर बनेका अधिकाँश तालहरुमा त्यहाँको पानी निलो देखिन्छ। तर, पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानमा रहेको गाईखर्क तालको पानी भने रगत जस्तो रातो रङको छ।
गाईखर्क ताल पहिलो पटक देख्नेहरुका लागि डरलाग्दो नै देखिन्छ। जो कोहिलाई झ्ट्ट विश्वास गर्न कठिन हुन्छ तर यो सत्य हो।
कतै पानीको मुहान देखिँदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो। यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ।
मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडा अध्यक्ष मिम पुनले हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको विशेषता भएको बताए।
उनका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रगत जस्तै रातो रङ्गको हुन्छ। एल्गी र ब्याक्टोरीयको कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सको कारणले पानीलाई रातो बनाउने गर्दछ।
सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताए।
यो ताल समुन्द्री सतहदेखि करिब २४ सय मिटरको उचाइमा अवस्थित छ। दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ। ४६÷४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४÷७५ मा लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिए।
मालिका गाउँपालिकाको रु ५ लाख आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ। हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ। चालु आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि रु ७ लाख बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी दिए।
देवीस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन।
बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ। गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ। यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ।
यो तालको अर्को विशेषता भनेको वरिपरि बाक्लै रुख हुँदाहुँदै पनि रुखका पातहरु झरेर यो तालमा पर्दैनन्। “रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिँदैन” वडा सदस्यसमेत रहेका घनबहादुर फगामीले भने “स्थानीयहरुले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन्।”
मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो। सेभेन ए साइड फुडसल तथा बनभोजको लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताए। थाहाखबर