‘द केरला स्टोरी’ले जगाएका विचारहरू

|

  • सुमन बानियाँ

सन् २०२३ मे ५ देखि रिलिज भएको ‘द केरला स्टोरी’ हिन्दी भाषामा बनेको चलचित्र हो जसका निर्देशक सुदिप्तो सेन हुन् । यसले दक्षिण भारतको केरला राज्यमा कसरी युवतीहरूको धर्मान्तरण गरिन्छ र अन्तर्राष्ट्रिय आतङ्कवादी गिरोह इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (ISIS) मा आबद्ध गराइन्छ भन्ने तिक्त घटनाको यथार्थ चित्रण गरेको छ । सन् २०२२ मा प्रदर्शित चलचित्र ‘द कश्मिर फाइल्स’ले जुन स्तरमा भारतीय सिने जगतलाई तताएको थियो, अहिले ‘द केरला स्टोरी’ले त्यसको प्रभावलाई अझ गहन बनाउने स्पष्ट आङ्कलन गर्न सकिन्छ । भारतको हिन्दू-मुस्लिम मुद्दा र  अन्तर्राष्ट्रिय रूपमा भयोत्पन्न गराइरहेको मध्यपूर्वको आतङ्ककारी समूह ISIS को भर्नाप्रणालीका विषयमा घटेका यथार्थ घटनामा आधारित यस चलचित्रले हरेक हिन्दूलाई एकपटक आफूले बिर्सेको बाटो सम्झाइदिनेछ । दर्शकहरूले यस चलचित्रलाई खासगरी हरेक हिन्दू किशोरी र युवतीहरूले हेर्नै पर्ने चलचित्रका रूपमा सिफारिस गरेका छन् ।

‘वसुधैव कुटुम्बकम्’को मान्यतालाई अङ्गीकार गरेको हिन्दू समाजले आस्तिकता सङ्गसङ्गै नास्तिकतालाई पनि स्थान दिएको छ । हिन्दू धर्ममा कट्टरपन्थी अवस्था विरलै मात्र भेटिन्छ, त्यो पनि पछिल्लो समयमा विस्तारै क्षय हुँदै गएको छ । नेपाल आफैंमा हिन्दू धर्मको बाहुल्यता भएको देश हो तर यसले लिएको धर्मनिरपेक्षताको नीतिले हिन्दू धर्मावलम्बीहरूमा त्यति धेरै असर परेको छैन । विविधताका बीचमा भ्रातृत्वको प्राप्ति हुँदा केही गुमेको महसुस हुँदैन । हिन्दू धर्मलाई केही राजनीतिक दलहरूले मूल एजेन्डा बनाए पनि आम नेपाली जनतामा सबै धर्म समान हुन् भन्ने भावना विकसित भएको पाइन्छ । बौद्ध धर्मलाई हिन्दू धर्मकै पवित्र अंश जसरी लिइन्छ र भिक्षुहरूप्रति हिन्दूहरूले अधिक सम्मान प्रकट गर्दछन् । धार्मिक सहिष्णुता नेपालको चिनारी बनेको छ । नेपालको जात व्यवस्थाको शताब्दिऔंदेखिको नकरात्मक प्रभाव भने अझै महसुस गर्न पाइन्छ, जुन हाम्रो समाजको जराधारदेखि सुधार हुनुपर्ने पाटो हो ।

पछिल्लो समयमा नेपालमा धर्मनिरपेक्षता र हिन्दू धर्मको उदारताको इशाई धर्म समूहले लाभ लिएको भनी प्रशस्त आलोचना गरिएको पाइन्छ । इस्लाम अथवा इशाई धर्मको जस्तो कठोर संस्कृति हिन्दू धर्ममा छैन । पछिल्लो समयमा मन्दिर जानु केबल एउटा फेसनका रूपमा विकसित भएको समाजमा धार्मिक, आध्यात्मिक र सांस्कृतिक पक्षमा आँच आउनु स्वाभाविक कुरा हो । ‘द केरला स्टोरी’ मा हिन्दू धर्मको यही उदारता र नयाँ पिंढीमा धर्मप्रतिको अबोधताका कारण अर्को धर्म कबुल गर्नमा सहजै ‘ब्रेनवास’ गरी धर्मान्तरण गरिएको चित्र देखाइएको छ । किशोरावस्था, युवावस्था तथा अभिभावकत्व निभाउने सबै उमेरका मानिसहरूका लागि यो चलचित्र सचेतक र मार्गदर्शक बन्नेछ ।

दक्षिण भारतको केरला राज्यको जनसङ्ख्यामा क्रमिक रूपमा आएको परिवर्तन रोचक छ । सन् १९०१ मा केरलामा ६८.५% हिन्दू धर्मावलम्बी रहेकोमा हाल ५४.९% पुगेको छ । त्यस्तै, सन् १९०१ मा १७.५% मुस्लिम रहेकोमा हाल २६.६% पुगेको छ । ISIS मा केरलाबाट धेरै मानिसहरूको भर्ना भएका समाचारहरू पहिले देखि नै सार्वजनिक हुँदै आइरहेका हुन् । कुनै धार्मिक समुदायको जनसङ्ख्या वृद्धि हुनुमा त्यसले अङ्गालेको विवाह नीति र जनसाङ्ख्यिक नीतिको ठूलो भूमिका निश्चय हुन्छ तर धर्मान्तरणबाट जनसङ्ख्या वृद्धि हुने विषय भने संवेदनशील विषय हो । चलचित्रमा भारतका तत्कालीन मुख्यमन्त्रीले बीस वर्षमा केरला ISIS बन्नेछ भनी घोषणा गरेको कुरालाई समेत उठाइएको छ ।

धर्मान्तरण कुनै व्यक्तिको अधिकार हो, तर यसलाई प्रभाव पार्ने तत्त्वहरूको भने मिहिन अध्ययन हुन जरूरी छ । धर्मान्तरणपछि केबल सामाजिक सांस्कृतिक रूपान्तरण भएको अवस्थाप्रति एक किसिमले निरपेक्ष र तटस्थ रहन सकिन्छ तर धर्मान्तरणको उद्देश्य यदि धर्मान्तरित व्यक्तिहरूलाई धार्मिक युद्ध गर्नका लागि तयार पारिन्छ अथवा उनीहरूको बौद्धिक एवम् शारीरिक शोषण गरिन्छ भने त्यो गम्भीर रूपमा मानवाधिकारको उल्लङ्घनको विषय हो । आतङ्कवादको कुनै धर्म हुँदैन, कुनै धर्मको उद्देश्य आतङ्कवाद हुँदैन । सबै धर्मले मानवजातिको कल्याण र शान्तिको अपेक्षा गरेका हुन्छन् । इस्लाम धर्मले होइन, आतङ्कवादीहरूले धार्मिक युद्धका लागि वैचारिक ‘ब्रेनवास’ गर्दा आज विश्वमा प्रशस्तै त्रासदीका घटनाहरू घटिरहेका छन् ।

चलचित्रमा प्रयुक्त भाषा कठोर छ तर ती दैनिक जनजीविकाका शब्दहरू नै हुन् । विषाक्त परिस्थितिलाई चित्रण गर्न निर्मम संवादहरूको प्रयोग सान्दर्भिक देखिन्छ । कलाकारहरूले भौगोलिक तथा सांस्कृतिक पृष्ठभूमिको लवज बोल्नका लागि गरेकोपरिश्रम संवादहरूमा झल्किन्छ । दर्शकका आँखाबाटकरिब सवा दुई घण्टाको चलचित्र निमेषभरमा सकाउन निर्देशक सफल भएका छन् । एक पटक आफ्नो मूल, संस्कृति, धर्म, परम्पराबारे सोच्नका लागि चलचित्रले दर्शकहरूलाई झस्काउँछ नै ।

धेरै जातजाति वा धर्म भएको समाजमा एकको संस्कृतिले अर्कोलाई असर पर्दछ र सांस्कृतिक रूपान्तरणमा प्रभाव पार्दछ । अन्तरसांस्कृतिक तथा अन्तरधार्मिक विवाहहरू हुने गर्दछन् । आफ्नो सहजता अनुसारको सिको गर्नु स्वाभाविक कुरा हो । समाजशास्त्रले बहुलवादयुक्त समाजमा Assimilation र Amalgamationजस्ता पक्षहरूलाई उजागर गरेको छ ।नेपालको इतिहासमा राजनीतिक केन्द्रीकरणका माध्यमबाट सत्तामा नरहेका र अल्पसङ्ख्यकहरूको संस्कृतिमाथि दमन गरिएको थियो । विविधतायुक्त समाजमाSalad bowel approach बाट सामाजिक सांस्कृतिक ऐक्यबद्धता र राष्ट्र निर्माण गर्ने कार्यलाई उपयुक्त, न्यायसङ्गत र लोकतान्त्रिक मानिन्छ ।

चलचित्रको भाव विविध धर्मयुक्त समाजमा एउटा अभियानका रूपमा विकसित हुने निश्चित छ । आफ्नो धर्म, विगत, वर्तमान र भविष्यप्रति सजग रहँदै गर्दा अर्को धर्मलाई पूर्णतया बहिस्कार र बेवास्ता गर्नु सही होइन । एकले अर्काको पहिचानको इज्जत गर्दै सामाजिक बन्धुत्वको विकास नभएसम्म सामाजिक विकास असम्भव छ । विविधता व्यवस्थापन राज्य र समाजका प्रबुद्ध वर्गको दायित्व हो । हरेक धर्मका प्रमुख व्यक्तिहरूका बीचमा राष्ट्रिय सहमति र प्रतिबद्धताको आवश्यकता छ ।  जो कुनै व्यक्तिको धार्मिक स्वतन्त्रताप्रति हरेकले सम्मान गर्नुपर्दछ तर धर्मान्तरणको सोच र उद्देश्य यदि आतङ्कवादजस्तो गलत मनाशयसँग जोडिएको छ, त्यसले पारिवारिक विखण्डन हुँदै राष्ट्र निर्माण असफलतामा बल दिने देखिन्छ भने अन्तर्राष्ट्रिय जागरूकता सहित हरेक राज्यले यस्तो विषयप्रति गम्भीर हुँदै कठोर नीतिहरू ल्याउनुपर्दछ जसले धार्मिक स्वतन्त्रताको हकलाई पक्षपोषण गर्दै यसले निम्त्याएका विकृतिहरूको समाधान गर्न सकोस् ।

 

२०८० बैशाख २६, मंगलवार प्रकाशित