म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् ।
यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन् । उनले रु एक लाखमा घोडा किनेका छन् ।
करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किनेका हुन् ।
घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुवेदीको भनाइ छ । ‘इञ्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ, मर्मतको खर्च लागेन’, सुवेदीले भने । किसानको घरआँगनमै पुगेर सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुवेदीले बताए ।
गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदीसहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै गएर सेवा दिने गरेको उनले बताए । दुधालु गाईभैँसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलोमा पुग्ने क्रममा सेवाग्राही समेत उत्साहित हुने गरेका उनको भनाइ छ ।
लामो समयदेखि व्यावसायिकरुपमा गाईभैँसी, बाख्रापालन गर्ने कृषकसँग घरमै पुगेर व्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याका बारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गरेका सुवेदीको सेवाबाट कृषकसमेत सन्तुष्ट छन् ।
घोडामा लाग्ने खर्च कम भएकालेसमेत ग्रामीण क्षेत्रमा महँगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उनको तर्क छ । मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैँसीमा देखिएको बाँझोपनका कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुवेदीलाई यातायात खर्चसहितको सुविधासमेत कृषकले दिन्छन् । परिवारका सदस्यलेसमेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेको उनले बताए ।
धवलागिरी गाउँपालिका–१ गुर्जा, वडा नं २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन । सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारी साधनको प्रयोग गर्न सहज छैन ।
वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिलेको उनी बताउँछन् । रासस