बजेट नहुँदा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र

|

म्याग्दी : बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ।

चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा सञ्चालनमा ल्याउन नसकिएको हो।

‘प्राविधिक र पूर्वाधार निर्माण गरी गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने तयारी भए पनि आन्तरिक व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको हो’, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने।

पर्यटन मन्त्रालयको ५० लाख र एक करोड तातोपानी कुण्ड व्यवस्थापन समिति गरी एक करोड ५० लाख रुपैयाँ लगानीमा पाँचतले भवन निर्माण गरिएको छ। उनका अनुसार, भवन निर्माण गर्दा लागेको ६९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ। विभिन्न चरणमा स्थानीय उपभोक्ता समिति मार्फत भवन निर्माण गरिएको हो।
कोरोना महामारीको कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनी स्थित एक सहकारीबाट ६९ लाख रुपैयाँ ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको उनले जानकारी दिए।

प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट नगरपालिकामार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरिएको छ। योगा, फिजियो थेरापी, हाइड्रोथेरापी, अकुपञ्चर र परामर्श कक्ष बनाइएको छ।

चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरण यत्तिकै थन्किएर बसेका छन्। यसैगरी प्रशासन र नगरपालिकासंग चिकित्सालय सञ्चालन सहमतिका लागि प्रक्रिया थालिएको उनको भनाइ छ। बजेट व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गर्ने उनले बताए।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट विरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो।

चिकित्सालयमा हाइड्रो थेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपंचर, फिजियो थेरापी, परामर्शको माध्यमबाट औषधीको प्रयोग बिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिन्छ।

कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउँदै आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए। थाहाखबर

२०७९ माघ २६, बिहीबार प्रकाशित