पोखरा–कुश्मा खण्ड दैनिक आठ घण्टा बन्द

|

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा–कुश्मा सडक खण्ड दैनिक आठ घण्टा बन्द भइरहेको छ।

पोखरा उपत्यकाको छेउ भाग याम्दी नजिकै जौबारीबाट करिब ५० मिटर अगाडि हेम्जातर्फ सेती नदी किनारमा रहेको भिर कटानका लागि सडक बन्द गरिएको हो। भिरको उचाइ धेरै भएकाले भिर काट्ने काम चलिरहेकोले सडक सुरक्षालाई ध्यानमा राखेर दैनिकरूपमा तालिका अनुसार सडक बन्द गरिएको हो।

गत माघ १२ गतेदेखि सुरु भएको सडक बन्द भिर काट्ने काम नसकिएसम्म जारी रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बताएको छ। सडक खण्डमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बेलुका ९ बजेदेखि राति १ बजेसम्म चार घण्टा गरी दैनिक आठ घण्टा सडक बन्द गरिएको हो।

सडक बन्द रहने अवधिभरका लागि जौबारी हुँदै बाहिरिने र हेम्जा हुँदै पोखरा भित्रिने सवारीहरूका लागि वैकल्पिक सडकको रूपमा विभिन्न सडकहरू प्रयोग गर्न सकिने पनि ट्राफिक प्रहरीले बताएको छ। जौवारीबाट बाहिरिने बस, मिनिबस, माइक्रो बस, साना सवारी लगायतलाई पहिलो वैकल्पिक बाटोको रूपमा सिमपानीचोक–बगर–शिक्षा कार्यालय–के.आई सिंह पुल–दीप–हाउजिङ हुँदै नयाँ पुल जाने व्यवस्था गरिएको छ।

दोस्रो वैकल्पिक बाटोको रूपमा केआई सिंह पुल–गोस्टेघाट पुल हुँदै हेम्जा तथा हलुका सवारीका लागि मात्रै तेस्रो विकल्पको रूपमा बिन्दबासिनी चोक–सराङकोट–कास्कीकोट हुँदै नौ डाँडा निस्कन सकिने छ।

यस्तै हेम्जा हुँदै पोखरा भित्रिने हेभी मालवाहक ट्रक, बस, मिनिबस, माइक्रो बस, साना सवारीहरू जौबारीको नयाँ पुल–दीप–हाउजिङ–के.आई. सिंह पुल–बगर हुँदै सिम्पानी निस्केर पोखरा भित्रिन सक्ने छन्। अर्को विकल्पको रूपमा नौ डाँडा–कास्कीकोट–सराङकोट–बिन्दबासिनी हुँदै पोखरा पस्न सक्नेछन्।

वैकल्पिक बाटो प्रयोग नगरी भिर काट्ने लागेकै ठाउँको प्रयोगमा रहँदै आएको सडकमा आउजाउ गर्ने सवारीहरूलाई प्रत्येक आधा÷आधा घण्टामा छिर्न र बाहिरिन दिइने छ। पर्खाइमा बसेका सवारीको लाम लाग्दा दुर्घटनाको जोखिम बढ्ने तथा समय धेरै खर्च हुने भएकाले वैकल्पिक सडककै प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।थाहाखबर

२०७९ माघ १७, मंगलवार प्रकाशित