पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण

|

 पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकको निःशुल्क स्वास्थ्य जाँच परीक्षण गरिने भएको छ।

महोत्सवमा आउने दर्शकलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइग्नोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर रानीपौवा र नरहरि पोलिक्लिनिक राम बजारको सहयोगमा मधुमेह र रक्तचाप निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए

महोत्सवमा आउने दर्शकले मधुमेह र रक्तचापको परीक्षण निःशुल्क तथा तीनवटै स्वास्थ्य संस्थाबाट अन्य जाँचमा ५० प्रतिशत छुट पाउनेछन्। महोत्सवको सातौँ दिन मङ्गलवार मात्रै दुई सयजनाले मधुमेहको निःशुल्क परीक्षण गरेका छन्।

महोत्सवको सातौँ दिनसम्म आइपुग्दा साढे तीन करोडको कारोबार भएको र असी हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाले बताए।

बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडोयामका सामग्री, घरायसी प्रायोजनको सामग्री, विद्युतीय प्रयोजनका सामग्रीसँगै तरकारीजन्य सामग्रीको बिक्री वितरण भएको छ।

महोत्सवको आठौँ दिन बुधवार लोकदोहोरीतर्फ बद्री पङ्गेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टतर्फ ए.एस.एम.को प्रस्तुति रहनेछ। Thahakhaber

२०७९ माघ ४, बुधबार प्रकाशित