बजेट अभावले पोखरा रङ्गशालामा जडान भएन ‘फ्लड लाइट’

|

 ठूलो धनराशि खर्चेर बनाइएको अन्तर्राष्ट्रियस्तरको पोखरा रंगशालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ। ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को मान्यता पाउन पनि रंगशालामा फ्लड लाइट अनिवार्य हुनुपर्छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बजेट अभावमा बत्ती जडान हुन नसकेको बताए। ‘संघ, प्रदेश सरकार कतैबाट बजेट परेको छैन, बत्ती जडानको योजना अन्योलमा छ’, उनले भने, ‘फ्लड लाइटका लागि करिब १२ करोड लाग्ने अनुमान छ।’

राष्ट्रिय खेलकुद परिषद्ले दुई वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको पाँच करोड रुपैयाँ कोभिड–१९ का कारण काम हुन नसकी फिर्ता भएको थियो। ‘संघ र प्रदेश दुवैतिर फ्लड लाइटका लागि बजेट माग गरिरहेका छौँ। स्रोत सुनिश्चित हुनासाथ रंगशालामा बत्ती जडानको काम अघि बढ्छ’, उनले भने, ‘रंगशालाको विकास त प्रदेश सरकारको पनि दायित्वभित्र पर्छ। प्रदेशबाट पनि आवश्यक पहल हुनेमा हामी विश्वस्त छौँ।’

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले अन्तर्राष्ट्रियस्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रंगशाला खुम्चिन सक्ने धारणा राखे। ‘साउथ एसियन टिम आउने खालका प्रतियोगिता पोखरा रंगशालामा खेलाउन सक्नुपर्छ। त्यसका लागि फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार चाहिन्छ’, उनले भने, ‘ठूलो लगानी परेको रंगशालाबाट राज्यले पनि लाभ लिनुपर्छ।’

सदस्यसचिव गुरुङले संघ सरकार मातहत रहेको रंगशाला व्यवस्थापन र सञ्चालनमा समेत प्रदेशसँग सहकार्य हुन नसकेको बताए। ‘रंगशाला व्यवस्थापन र प्रयोगमा केन्द्र सरकार उदार हुनसकेको छैन। त्यसले गर्दा प्रदेश सरकारलाई पनि हामीले किन लगानी गर्ने भन्ने परिरहेको छ’, उनले भने, ‘अब त्यसरी नसोची सबै मिलेर रंगशालाको विकासमा काम गर्नुपर्छ।’ साँझ र राति प्रतियोगिता राख्न सकिएजागिरे र कामकाजी मानिसले समेत खेलबाट फाइदा लिन सक्ने उनको भनाइ छ।

प्रतियोगितामात्रै नभएर रात्रिकालीन खेलाभ्यासका लागि पनि रंगशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले बताए। पटक–पटक यो विषय उठ्ने गरे पनि राज्यका खेलसम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उनको भनाइ छ। ‘सवा अर्बभन्दा बढीको लागतमा बनेको अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा फ्लड लाइट नहुनु दुर्भाग्य हो’, अध्यक्ष बरालले भने, ‘दुई वर्षअघि नै बत्ती जडानका लागि काम थाल्ने भनिए पनि त्यसले अझै सार्थकता पाउन सकेको छैन।’

राखेपले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने प्रतिबद्धता जनाएको थियो। गत असोजमा भएको प्रतियोगिताअन्तर्गत फुटबललगायत मुख्य खेल पोखरा रंगशालामा भएका थिए। एक अर्ब २८ करोड रुपैयाँ लगानीमा तीन वर्षअघि र‌गशाला निर्माण गरिएको थियो।

हाल १६ हजार पाँच सय दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पुर्‍ याउने सरकारको योजना छ। मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता पोखरा गोल्डकपलगायत प्रतियोगिता यहीँ हुने गरेको छ।

२०७९ पुष २६, मंगलवार प्रकाशित