बजेट नहुँदा खेलग्राम अलपत्र

|

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा निर्माणाधीन खेल पूर्वाधारको गति सुस्त छ । खेलग्रामका लागि बजेट सुनिश्चिता हुन नसक्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।

सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय, तह एक खेलग्राम’सहितको पूर्वाधार निर्माण गर्ने अवधारणा स्वरुपमा मुस्ताङ सदरमुकाम जोमसोममा आ.व. २०७६/०७७ देखि खेलग्रामका पूर्वाधार निर्माण सुरु गरिएको थियो । जोमसोमको जीर्ण कभर्डहल मासेर काम थालिएको थियो ।

बहुवर्षीय योजना अन्तर्गत खेलग्राम निर्माण गर्न ६ करोड ५८ लाख ६३ हजार लाग्ने अनुमान छ । खेलग्रामका लागि संघीय तथा प्रदेश, राष्ट्रिय खेलकुद परिषद र स्थानीय तहले बजेट सुनिश्चिता गर्ने गरी काम थालिएको थियो ।

खेलग्राम निर्माणका लागि एकद्वार प्रणालीबाट बजेट उपलब्ध नहुँदा समस्या उत्पन्न भएको घरपझोङ गापाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए । खेलग्राम निर्माणका लागि संघीय सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ भने राष्ट्रिय खेलकुद परिषदले जिल्ला खेलकुद विकास समितिलाई जिम्मा दिएको छ । प्रदेशको बजेट पनि अन्य निकायबाट आउने भएकाले खेलग्रामको प्रगति नदेखिएको हो ।

सुरुवातीदेखि गत वर्षसम्म स्थानीय उपभोक्ता समितिमार्फत काम भएको थियो । संघीय सरकारले खेलग्रामका लागि ८ लाख निकासा गरेको छ । त्यसमा स्थानीय तहले ८ लाख थप्दा १६ लाखको मात्र काम भएको इन्जिनियर शर्माको भनाइ छ । चालु वर्ष सानु कन्ट्रक्सनले खेलग्रामको काम गरेको थियो । तर, अहिले बजेट नहुँदा काम रोकिएको छ ।

जोमसोममा निर्माणाधीन एक स्थानीय तह एक खेलग्रामको भौतिक प्रगति ३० प्रतिशत छ । खेलग्रामका लागि संघ, प्रदेश र खेलकुद परिषद र स्थानीय तह गरी करिब २ करोड खर्च भइसकेको इन्जिनीयर शर्माले उल्लेख गरे । ‘खेलग्राम निर्माण सुरु भएको २ वर्ष बितिसक्यो, पर्याप्त बजेट सुनिश्चिता नहुँदा निर्माणको कामले गति लिएको छैन,’ उनले भने, ‘काम गर्नलाई बजेट चाहिन्छ, माथिबाट पर्याप्त बजेट आउँदैन ।’

खेलग्राम निर्माणका लागि प्रदेश खेलकुदले डिपिआर तयार गरेको थियो । जोमसोममा निर्माणाधीन खेलग्रामका लागि २ तले पक्की भवन, इन्डोर खेल मैदान, अफिस कोठा, चेन्जिङ रुम, प्याराफिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालय लगायतका संरचना निर्माण हुने छन् ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुस्ताङमा बर्सेनि थाक खेलकुद तथा सांस्कृतिक विकास संघले थाक भलिबल प्रतियोगिता आयोजना गर्ने गरेका छन् । बर्सेनि अन्तरविद्यालय स्तरीय राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद पनि हुन्छ ।

समुद्री सतहदेखि २ हजार ७ सय मिटरमा रहेको मुस्ताङको जोमसोममा इन्डोर खेलकुद मैदान नहुँदा समस्या पर्दै आएको छ । मुस्ताङमा १२ बजेपछि बेजोडकले हावा चल्ने हुनाले खेल सञ्चालन गर्न कठिन हुन्छ । इन्डोर खेलग्राम निर्माण सम्पन्न भएमा यहाँका खेलाडीलाई खेल खेल्न सहज हुनेछ । samadhan news

२०७९ पुष २४, आईतवार प्रकाशित