बिजुलीको लाइनझैं टाँगिएका स्टिल केबल। केबलमा झुण्डिएको छ, मान्छे बस्न मिल्ने सिट अर्थात हार्नेस्। स्टिल केबलमा हार्नेस् गुडाउन ट्रली राखिएका छन्। हार्नेसमा मान्छे बसेपछि ट्रली गुड्न थाल्छ। मान्छेका तौल र हावाको चापले गति निर्धारण गर्छ।
समुन्द्री सतहदेखि १५५० मिटर उचाइमा अवस्थित सराङकोटको टुप्पोबाट ९५० मिटर उचाइमा रहेको हेम्जा जोडिएको स्टिल केबलले ५३ डिग्री बनाएको छ। ५३ डिग्रीमा बसेको यी दुई स्टेशन जोड्ने केबल १८५० मिटर लामो छ। हार्नेसमा बसेर मान्छेले उक्त दुरी ९० सेकेण्डमा पार गर्न सक्छ।
गोल्छा समूहका शरद गोल्छा र भरत गोल्छाले विदेश घुम्दा यस्ता जिपलाइन देखेका थिए। नेपालमा साहसिक पर्यटकको पहिलो रोजाइ पोखरामा उक्त ‘प्रडक्ट’ भित्राउन उनीहरूले विचार गरे। २०११ मा १३ करोड लगानीमा जिपलाइन खोले।
त्यतिबेला नेपालमा जिपलाइन थिएन। पर्यटन बजारमा जिपलाइन बुझाउनुपर्ने थियो। बुझाउन नसके डुब्ने अवस्था थियो। पोखरामा साहसिक पर्यटनका रूपमा प्याराग्लाइडिङ, र्याफ्टिङ र बोटिङ मात्र थियो। यसमा २०११ देखि जिपलाइन थपियो।
गोल्छा समूहले हाइग्राउण्ड एडभेञ्चर नामक कम्पनी खोलर जिपलाइन अमेरिकाको फ्रेन्चाइज लिए। जिपलाइन नेपाल चलाए। उक्त कम्पनीको लगानीकर्तामा अभिनव चुरिवाल र दिनेश महर्जन पनि छन्।
काठमाडौंमा महर्जन ग्राफिक डिजाइन गर्थे। पोखरामा जिपलाइन व्यवस्थापक पदमा जागिर खुलेको थाहा पाएपछि उनले आवेदन दिए। परीक्षा पास गरेर पोखरा आए। व्यवस्थापकबाट उनी पनि हाइग्राउण्ड एडभेन्चरको लगानीकर्ता बने। अहिले पनि उक्त कम्पनीको व्यवस्थापन उनै महर्जनले हेर्छन्।
नेपालको पर्यटन बजारमा नौलो खेल थियो जिपलाइन। हिमाल, फेवाताल र पोखरा बजारको रोमाञ्चक दृश्य देखिने सराङकोटको सूर्योदय पनि प्रख्यात छ। यी तिनै दृश्य देख्न सकिने सराङकोटको टुप्पोमा २ रोपनी जग्गा लिएर हाइग्राण्ड एडभेन्चरले जिपलाइनको स्टेशन बनाएको छ। जहाँबाट उडेर हेम्जा झर्न सकिन्छ।
जिपलाइनमा बसेर उत्तरतर्फ हिमाल र तल जंगल हेर्दै हेम्जा झर्दा याम्दी र सेती नदीको दृश्य पनि रोचक देखिन्छ। हार्नेस गुड्दा आवश्यकभन्दा बढी स्पिड भयो भने हेम्जा स्टेशनले सेतो झण्डा देखाउँछ। त्यतिबेला ब्रेक लगाएर गति नियन्त्रण गर्न सकिने व्यवस्थापक महर्जनले बताए। यस्तै, बीचमै अड्किने वा गति कम भएको अवस्थामा पनि गति बढाउन सकिने व्यवस्था छ।
अमेरिकी कम्पनीको फ्रन्चाइज लिएको जिपलाइनमा सबै प्रविधि अमेरिकी छ। सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको महर्जनले बताए।
‘हामीले जिपलाइन चलाएको १० वर्ष भयो, अहिलेसम्म एउटा पनि घटना भएको छैन,’ उनले भने, ‘यसको खुसीयालीमा हामीले सुरक्षित जिपलाइनका १० वर्ष भनेर ‘सेलिब्रेट’ गर्यौं।’
उक्त जिपलाइनले अहिले विश्वकै अग्लो स्थानमा रहेको रेकर्ड पाएको छ।
विश्वका साहसिक गतिविधिबारे अध्ययन गरेर अवार्ड दिने संस्था अफिसियल वर्ल्ड रेकर्डले हाइग्राउण्ड एड्भेन्चर नेपालले चलाएको सराङकोट–हेम्जा जिपलाइनलाई टलेष्ट र स्टेपेष्ट अवार्ड दिएको छ।
यस्तै, गिनिज बुक अफ वर्ल्ड रेकर्डले पनि यसबारे अध्ययन गरिराखेको व्यवस्थापक महर्जनले बताए।
हाइग्राउण्ड एड्भेन्चरले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलाउँदै आएको जिपलाइन अंग्रेजी नयाँ वर्षका अवसरमा बिहान ५ बजेदेखि सञ्चालन गर्न थालेको छ। यसले पर्यटकलाई बिहान हिमाल र सूर्योदय हेर्द जिपलाइनको आनन्द लिने सुविधा दिएको छ।
जिपलाइन गर्न आउने अधिकांश पर्यटक विदेशी छन्। नेपालीको आकर्षण पनि पछिल्ला समय बढ्दै गएको महर्जनले बताए। जिपलाइन गर्नकै लागि दुबईबाट पोखरा आएकादेखि एक जना ९५ वर्षीय बेलायती पर्यटकले पनि जिपलाइन गरेको उनीहरूको रेकर्डमा छ।
जिपलाइन चलाउन खोलिएको हाइग्राउण्ड एड्भेन्चरले पोखरामा साहसिक पर्यटनका अन्य ‘प्रडक्ट’ पनि थप्दै लगेको छ। अन्नपूर्ण क्षेत्रमा पदयात्रामा आउने पर्यटकको ‘ट्रान्जिट’ पोखरामा साहसिक खेलकुदमार्फत् पर्यटकलाई भुलाउन प्रडक्ट थपेको महर्जनले बताए।
जिपलाइनमा पर्यटकको संख्या बढ्दै गएपछि हाइग्राउण्डले हेम्जामै बन्जी सञ्चालनमा ल्याए। जिपलाइनबाट ओर्लने ठाउँमै २०१४ मा क्यान्टिलिभर पुलमार्फत् बन्जी सञ्चालन गरेको महर्जनले बताए। पोखरामा पहिलो पटक सञ्चालनमा आएको उक्त बन्जी नेपालकै पहिलो क्यान्टिलिभर बन्जी हो।
‘अन्नपूर्णमा पदयात्रा गरेर फर्किएर सराङकोटबाट जिपफ्लाइङ गरेका पर्यटक बन्जी जम्प गर्न भोटेकोशी जान तम्सिएको देखेपछि हामीले बन्जी थप्यौं,’ महर्जनले भने।
जिपलाइनबाट ओर्लने हेम्जा स्टेशनमा बन्जीपछि अहिले जायन्ट स्विङ पनि सञ्चालनमा छ।
नेपालमा पहिलो जायन्ट स्विङ सञ्चालन गरेको दाबी कम्पनीको छ। याम्दी खोलाबाट २६२ फिटमाथि ९८ फिटको टावर बनाएर स्विङ खेलाइन्छ। जहाँ एकैपटक ३ जनासम्म बसेर खेल्न सक्छन्।
अहिले हाइग्राउण्ड एड्भेन्चरले फेवाताल किनार खपौंदीमा नयाँ साहसिक खेल एडिभी –(अल टेरेन भेइकल) सञ्चालन गरेको छ। मरुभूमिमा चलाएर मनोरञ्जन लिने चारपाङ्ग्रे बाइक चढ्न युवा पुस्ताको घुइँचो देखिन्छ। मनोरञ्जनकै लागि प्रयोग गरिने उक्त गाडी ८ किलोमिटरसम्म कच्ची वा पक्की जस्तोसुकै बाटोमा कुदाउन सकिने महर्जनले बताए।
यसअघि नेपालका केही ठूला होटलले पर्यटक घुमाउन एटिभी प्रयोग गर्थे। साहसिक खेलका रूपमा हाइग्राउण्ड एड्भेन्चरले भित्राएको उनले दाबी गरे। अहिले ८ वटा एटिभी रहेको र थप ५ वटा थप्ने योजना रहेको उनले बताए।
कम्पनीले एटिभी चलाउन आउने पर्यटकसँग मोटरसाइकलको लाइसेन्स अनिवार्य हुनुपर्ने बताएको छ।
पोखरामा जिपलाइनबाट सुरू गरेको साहसिक पर्यटनको व्यवसाय हाइग्राउण्ड एड्भेन्चरले अहिले बन्जी, स्विङ र एटिभी सञ्चालन गरिरहेको छ। यी चारवटा साहसिक खेललाई मिलाएर १६ वटा प्याकेज बनाएको व्यवस्थापक महर्जनले बताए।
उनका अनुसार लेकसाइडदेखि साहसिक खेल जिपलाइन, बन्जी र स्वीङमा जाने पर्यटकलाई गाडी र जिपलाइनमा जानेलाई सराङकोटस्थित माउण्टेन लजमा ब्रेकफाष्टको व्यवस्था गरेको छ।
कोभिड–१९ महामारीले सबभन्दा बढी असर पर्यटन क्षेत्रमा गरे पनि अहिले विस्तारै तङ्ग्रिन थालेको उनले बताए।
कोभिड अघिसम्म साहसिक पर्यटनका लागि पोखरामा आफूहरूले अफ सिजनको महसुस गर्न नपरेको बताए। चार वटा प्रडक्टमा ५० करोड लगानी गरिसकेको हाइग्राउण्ड एड्भेन्चरले ५० जनालाई रोजगारी दिएको छ।
‘साहसिक पर्यटनको एउटा गन्तव्य निर्माण गर्न लागिपरेका छौं, आगामी दिनमा थप प्रडक्ट आउँछ,’ उनले भने, ‘अहिले भइरहेका प्रडक्ट स्थापित गर्दै पर्यटनको हब बनाउँछौं।’ setopati