नयाँ परिस्थिति दुर्भाग्यपूर्णः कांग्रेस गण्डकी

|

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले गठबन्धनलाई सत्ता प्राप्तिको विषयमा मात्र केन्द्रित गर्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मंगलबार विज्ञप्ति निकालेर मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनलाई नेपाली जनताले आशा र भरोसाका साथ विजय गराए पनि अहिले सरकार गठनका सन्दर्भमा अनपेक्षित र अप्रत्यासित घटनाक्रम हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।

‘५ दलीय गठबन्धन टुटेर माओवादी केन्द्रको नेतृत्वमा एमाले सहितको गठबन्धनको सरकार निर्माण नेपालको प्रजातान्त्रिक इतिहासमा र संसदीय व्यवस्थाको लामो अभ्यासहरुमा यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणवावु श्रेष्ठले यस घटनाले पाँच दलीय गठबन्धनका नेताको जनतामाझ व्यक्त गरेका सम्पूर्ण आश्वासन धोकाधडीमा बदलिनुका साथै देश, जनता र नेपाली कांग्रेस पार्टी स्वयम्लाई पनि धोका भएको दाबी गरे ।

अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेस सदैव प्रजातन्त्रको रक्षा, मुलुक र जनताको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि परिस्थितिको सामना गर्न नेपाली कांग्रेस सक्षम रहेको जनाए ।

कांग्रेस आगामी दिनमा विगतका घटनाक्रमलाई सूक्ष्म विष्लेषण गरी नयाँ ढंग र नयाँ सोंचका साथ सुदृढ संगठन निर्माण गर्दै राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा अगाडि बढ्ने उल्लेख गरिएको छ । समाधान संवाददाता

२०७९ पुष १३, बुधबार प्रकाशित