मुस्ताङको उच्च लेकमा रहेका याक चौरी न्यानोका लागि बेसी स्थान्तरण गरिएको छ । हिउँद यामको मौसममा उच्च लेकमा हिमपात र अत्यधिक जाडो हुने भएकाले मुस्ताङका चाकचौरी पालक किसानले उच्च लेकमा रहेका याकचौरीलाई बेसीमा स्थान्तरण गरिएको हो ।
उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म झन्डै २ दर्जन बढीले पुख्र्यौली व्यवसायका रुपमा याकचौरी पालन गर्दै आएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा करिब १ हजार ५ सय, घरपझोङमा करिब २ सय ५० र थासाङ गाउँपालिकामा करिब २ हजार याकचौरी पालन गरिएको छ ।
समुन्द्री सतहदेखि करिब ४ हजार मिटरका लेकमा याकचौरी पालन गरिन्छ । यसरी खर्कमा पालिएका याकचौरीलाई हिउँद यामसँगै कात्तिकको दोस्रो सातादेखि न्यानोका लागि बेसीको पारिलो स्थानमा स्थान्तरण गरिने थासाङ २ सौरुका याकचौरी पालक सोजन हिराचनले जानकारी दिए ।
गर्मीयामको बैशाखदेखि कात्तिकको पहिलो सातासम्म याकचौरी उच्च लेंकको पाटनमा रहने र हिउँद यामको मंसिरदेखि चैतको अन्तिमसम्म बस्तीनजिक राखिने गरिएको छ ।
हिउँद यामको मौसममा उच्च लेकमा हिमपातको जोखिम हुने, चरनक्षेत्र हिउँले ढाकिने, अत्यधिक चिसोले याकचौरी गोठाला र पशुचौपायालाई सास्ती हुने हुदा उच्च लेकमा पालन गरिएका याकचौरी बस्तीनजिक स्थान्तरण गरिएको हो । बस्तीमा हिउँ परे पनि चाँडो पग्लिने, गोठाला तथा याकचौरीलाई न्यानो हुने र पशुचौपायालाई आहारा दिन सजिलो हुने हुन्छ ।
लोमान्थाङ गाउँपालिकाका याकचौरी पालकले कात्तिकअगावै खर्कका याकचौरी बस्ती नजिकको लेकमा सारेको स्थानीय आङ्गेल गुरुङले जानकारी दिए । हिमपात र चिसोको जोखिमबाट बच्न याकचौरीलाई बेसी झारिएको गुरुङको भनाइ छ ।
यस्तै, घरपझोङ गाउँपालिकामा २ घरधुरीले याकचौरी पालन गरेका छन् । जोमसोमका स्थानीय भूपिन शेरचन र वीरबहादुर घर्तीले २ सय ५० जति याकचौरी पालेका छन् ।
उनीहरुले घरपझोङको तिलिचो पदमार्गमा पर्ने नमखुलेंकमा याकचारी पालन गरेका छन् ।
हिउँदमा भने बस्तीनजिक ठिनी गाउँमाथि भ्रस्रा भन्ने स्थानमा याकचौरी स्थान्तरण गरेका छन् । पशुचौपाया र गोठालालाई लेकमा बस्न सास्ती हुने भएकाले केही महिनाका लागि बस्ती नजिकको लेकमा सार्न परेको याकचौरी पालक भूपिन्द्रले उल्लेख गरे ।
मुस्ताङको तल्लो क्षेत्र थासाङमा पनि करिब २० घरधुरीले व्यवसायिक याकचौरी पालन गरेका छन् । थासाङका याकचौरी पालक किसानले ३ वर्षअघि हिमालयन चौरीपालक कृषक समूह गठन गरेका छन् । थासाङको मार्चे लेक र धौलागिरि हिमाल आसपासको उच्च लेकमा याकचौरी पालन गर्ने गरिएको कोवाङका याकचौरी पालक गौतम शेरचनले जानकारी दिए ।
चिसो भूगोलमा पालन गरिएका याक÷चौरीले हिमाली जटिबुटी सेवन गर्ने भएकाले यिनको मासु स्वादिलो र पोषिलो हुने विश्वास गरिन्छ । पशुपालक किसानले चौरीको दूधबाट दही, घ्यु, छुर्पी र चिज जस्ता परिकार बनाउँछन् । याक/चौरीको पुच्छर पूजाआजाका लागि प्रयोग हुने भएकाले महंगोमा बिक्री हुने गर्छ ।
मुस्ताङको नाउरिकोटकी याकचौरी पालक सुशीला गौचनले हिउँदमा उच्च लेकको चरन क्षेत्रमा घाँस अभाव हुने भएकाले याकचौरीलाई बस्ती नजिकको चरन क्षेत्रमा ल्याउने गरिएको बताईन् । उनले याकचौरी पालनका लागि बर्खायाममा केही सहज हुने भए पनि हिउँद यामम हिमपात हुने भएकाले याकचौरी व्यवस्थापनमा चुनौती हुने उल्लेख गरिन् ।
हिउँदमा सुरक्षित स्थानमा व्यवस्थापन नगरे याकचौरी भोकले मर्ने उनले सुनाईन् ।
हिमाली उच्च लेकमा पालन गरिएका जिउँदो याकचौरीको आलो रगत सेवन केही रोगका बिरामीलाई उपयोगी हुने भएकाले मुस्ताङमा बर्सेनि बैशाख र साउनमा याकचौरीको आलो रगत खाने मेलासमेत लाग्ने गर्छ ।
याकचौरीको आलो रगत खान उल्लेख्य सर्वसाधारण मुस्ताङ आउने गर्छन् । मुस्ताङमा एउटै याकचौरीको मूल्य १ लाखदेखि १ लाख ५० हजारसम्म पर्छ । बर्खा याममा याक चौरी रेखदेखका लागि कतिपय पशुपालकले गोठालासमेत खटाउने गर्छन् । samadhan news