मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ ।
मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उनका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष रु ३३ करोड मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए ।
“स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो”, उनले भने, “कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।” प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।
मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौँ, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ । रासस