प्रदूषणको चपेटामा फेवा ताल

|

पोखरा :  फेवाताल पोखराको सबैभन्दा आकर्षक ताल हो । यही ताल हेर्न आन्तरिक र विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ । सुन्दर ताल फेवामा आठ हजारभन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरीको साथै सुन्दर माछापुच्छ्रेलगायतका हिमालको छायाको दृश्यले पर्यटकलाई लोभ्याउँछ ।

यति सुन्दर फेवाताल दिनप्रतिदिन प्रदूषणको चपेटामा पर्दै गएको छ । पोखराको मुख्य बजार हुँदै बग्ने खोला किनारमा फ्याकिएका फोहोर  बुटलेर बुलौदी, फिर्के फेवामा मिसिन पुग्छ । खोलाको किनारका केही घरधनीले तालमा मिसिने खोलामा घरको फोहोर पानी पनि सोझ्याएका छन् । तालमा मिसिन खोलामा प्लाष्टिक जन्य फोहोर, मरेका कुखुरा, कुकुरलगायत जनावर पनि फ्याक्ने पोखरेलीको बानीले प्राकृतिक सुन्दरताले भरिएको फेवा प्रदूषणको चपेटामा पर्दै गएको हो ।

फेवाको पानीको मुख्य स्रोत भने मुहान तर्फको हर्पन खोला हो । तालको मुहानबाट बगेर आउने हर्पन खोला वरपर पनि पछिल्लो समयमा सिमसार, दलदल क्षेत्र पुरेर घर बन्ने क्रम सुरु भएको छ ।

सिमसार पुरिदा पानीको स्रोतहरु संकटमा पर्दै गएका छन् भने मुहान क्षेत्रबाट पनि प्रदूषण बढ्दो छ ।  बजारबाट मात्रै फेवा प्रदूषणको चपेटामा पर्दै गएकोमा पछिल्लो समयमा सिमसारतर्फ पनि बस्ती बढ्दै जाँदा मुहान क्षेत्रबाट पनि ताल प्रदूषण हुँदै जानु फेवा संरक्षणमा थप चुनौती थपिएको नागरिक समाज पोखराका पूर्व संयोजक बिष्णुहरि अधिकारी बताउँछन् ।

पोखरा उपत्याका बृहत सरसफाइ अभियानले पोखराका ताल, नदी, खोला र बजार क्षेत्रको सरसफाइ अभियान गर्दै आएको थियो । २१० श्रृंखलासम्म यो अभियानले पोखराका ताल, नदी, खोला र बजार क्षेत्रका ३० /३५ वर्षअघि देखिको फोहोर संकलन गरेर सफा बनाएर महानगरलाई बुझाएको अभियानका संयोजक रामबहादुर पौडेलले बताउँछन्।

अभियानले नागरिक समाज, पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी, सरसफाई अभियान्ता, सम्बन्धित क्षेत्रका वडा अध्यक्ष, मेयर समेतलाई उपस्थित गराएर बृहत सरसफाइ अभियान चलाएका थिए । महानगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी गराएर अब आइन्दा जथाभावी फोहोर नफाल्न जनचेतना जगाउँदै सहरका कुना कुना सफा बनाएपछि त्यसपछि महानगरपालिकाले फोहोर हुन नदिन जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने र कुहिन र नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्न तर्फ लाग्नु पर्नेमा त्यसो नहुँदा फेरि पोखराका प्राकृतिक सम्पदन प्रदूषणको चपेटामा परेको अधिकारीले सुनाए ।

अभियानले नागरिकलाई जथाभावी फोहोर नफाल्न र आप्नो घर वरपर आफै सफा गर्न अनुरोध गर्दै अभियान अभियान चलाएको थियो । अभियान सुरु गरेर सफा गर्दाको केही दिन सफा हुने र त्यसपछिका दिनमा उसैगरी फोहोर फाल्न नछाड्ने बानीका कारण यहाँका प्राकृतिक सम्पदा प्रदूषणको चपेटामा परेका हुन् ।

पोखरेलीले मात्र होइन पोखरा  घुम्न आएका आन्तरिक पर्यटकले पनि ताल किनारमा बसेर चाउचाउ, मिठाई, बियर नै पनि खाएपछि प्लाष्टिकजन्य र बियरको क्यान, बोतल, मिनरलवाटरको बोतल ताल किनारमै फ्याक्ने गरेको पाइएको छ ।

एक एकजनाले फ्याकेको फोहोरका कारण ताल पछिल्लो समयमा प्रदूषणको चपेटामा पर्दै गएको हो । पोखराको विन्ध्यवासिन, बाग्लुङ बसपार्क, सृजनाचोक, सिद्धार्थ चोकलगायतका मुख्य बजारको सडकमा फ्याँकिएका प्लाष्टिक जन्य फोहोर पनि सडकको ढल हुँदै फिर्केमा मिसिएर तालमा पुग्ने गर्दछ । ठूलो पानी पर्दा खोला र सडकको फोहोर समेत बगाएर तालमा मिसिदा ताल प्लाष्टिक मय हुने गर्दछ ।

ठाउँठाउँमा सीसी क्यामेरा राख्ने र फोहार जथाभावी फाल्नेलाई ठूलो रकम जरिवना तिर्न बाध्य बनाउने र जसरी पनि  जरिवना अशुल्ने गरी काम गर्न सके पनि जथाभावी फोहोर फाल्न रोकिने अधिकारी बनाउँछन् ।

यसो गर्नसके पोखरा सफा मात्र हुने होइन महानगरपालिकाले फोहोर कर नै नलिदा पनि हुने उनले बताए । प्रत्येक घरधनीले जथाभावी फोहोर नफाल्ने मात्र होइन कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्नुपर्ने गरी महानगरपालिकाले नियम बनाएर अघि बढ्नुपर्ने उनले सुनाए ।

वर्षेनि बुलौदी, फिर्के खोला, खहरे खोलाहुँदै बगरे प्लाष्टिकजन्य फोहोर तालमा मिसिएका छन् । कति मात्रामा नकुहिने प्लास्टिकजन्य फोहोर तालमा थुप्रिएको छ, प्रदूपणले जलचरलाई के कस्तो असर पारेको छ भन्ने अध्ययन अहिलेसम्म नभएको पोखरा महानगरपालिकाका वातावरण विभागका प्रमुख निर्मलमान सिंह भण्डारी बताउँछन् ।

तालमा मिसिन ढलका कारण तालको पानीको प्रदूषणको मात्रा कस्तो अवस्थाम छ भन्ने मापन समेत नभएको उनले सुनाए । ३० वर्ष अघिसम्म तालकै पानी गाग्रीमा ल्याएर स्थानीयले खाना पकाउथे । अहिले भने तालको पानीले मुख धुन समेत नसक्ने गरी फोहोर बनेको स्थानीय हरि पहारी बताउँछन् ।

ताल प्रदूषणका कारण बेलाबेलामा माछा पनि मर्ने गरेको तालमै माछा मारेर जीवन निर्वाहा गर्दै आएका हर्पन फेवा मत्सव सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन् । प्रदूपण हुने र पुरिने क्रम तीब्र भएकाले केही वर्षमा ताल फोहोर पोखरीमा परिणत हुने हो कि भन्ने चिन्ता बढेको उनले बताए ।

ताल, नदी, सिमसार क्षेत्रहरु जैविक विविधताका भण्डार हुन् । सजिव प्राणीहरुका लागि अति आवश्यक पानीका भण्डार ताल, खोलाहरुले मानव वन्यजन्तुको जीवनकै अस्थित्व जोगाउने काम गरिरहेका छन् ।

ताल, खोला पर्यकीय आकर्षण मात्र होइन सिंचाइ, जलविद्युत, माछापालन लगायतमा उपयोग हुँदै आएका छन् । फेवातालबाट जलविद्युत निकालीएको छ । तालकै पानीले बिरौटाफाँटमा सिंचाई सुविधा पुगेको छ ।

तालकै पानी बगेर बनेको पर्यटकीय पाताले छाँगो (डेभिडफल) पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जलारी समुदाय वर्षैदेखि तालमा माछा मारेर जिविका निर्वाहा गरिरहेका छन् । यति महत्वको तालयति बेला प्रदूषणको चपेटामा मात्र होइन मुहानबाट बगेर आउने गेग्रयान, बालुवा, माटोले परिदै जाँदा वर्षेनि गहिराइ घटेको छ ।

हिजोको ताल आज जमिनमा परिणत हुर्ने क्रम बढ्दै गएको स्थानीय ज्ञानबहादुर जलारी बताउँछन् । ताल पुरिदै जानु, सिमसार पुरेर ताल किनारमा बस्ती बढ्नु लगायतका कारण साइबेरिया देखि हिउँदमा जाडो छल्ने आउने हुलका हुल चराको संख्या पनि आधा भन्दा बढी घटेको ज्ञाबहादुरले सुनाए ।

पोखराका फेवाताल, बेगनास, रुपालगायत ९ ताल अन्तर्राष्ट्रिय महत्व रहेको रासार सूचीमा सूचीकृत तालहरु हुन् । २०७१ सालको माघ महिनामा फेवाताल किनारमा फेवा सहित ८ ताललाई रामसार क्षेत्र घोषण गरिएको थियो । रामसारमा सूचिकृत गरिएपनि ताल संरक्षणमा भने स्थानीय सरकार, प्रदेश र संघ सरकारले कुनै ठोस काम गर्न सकेको छैन । तालको संरक्षणका लागि गर्नुपर्ने पहिलो काम सीमाङ्कन समेत अहिलेसम्म हुन सकेको छैन् ।     Annapurna

 

२०७९ पुष १, शुक्रबार प्रकाशित