गोरखामा पृथ्वी नारायण शाहको शालिक निर्माण गर्न खनिएको खाडल स्थानीयले पुरे

|

गोरखाको ठूलो आँगनमा पृथ्वी नारायण शाहको शालिक निर्माण गर्न खनिएको खाडल स्थानीयले मंगलबार पुरिदिएका छन्। नेपाली सेनाले परेड प्रर्दशन गर्न ठूलो आँगनको बिचमा शालिक निर्माण गर्दा आउजाउ गर्ने सडक अवरुद्ध हुने भन्दै गोरखा नगरपालिका ३ नारेश्वर, ४ पिपलथोक, वडा नम्बर ५ स्वाँरा लगायत क्षेत्रका स्थानीयले बिरोध जनाएका हुन् । ५० भन्दा बढिको संख्यामा आएका स्थानीयले शालिक निर्माण गर्न खनिएको दुई फिट गहिरो खाडल ढुङ्गा माटोले पुरिदिएका हुन्।

‘ठूलो आगनको पर्यटन प्रर्वद्धन गर्दा गोरखा दरवार, भिमसेन पार्कमा चाँही पर्यटक कसरी जान्छन्’ गोरखा नगरपालिका ३ का वडा अध्यक्ष चुलबहादुर कुँवरले भने ‘पुर्खादेखि हिँड्दै आएको बाटो अवरुद्ध गर्न भएन भन्ने माग स्थानीयको छ।’ वैकल्पिक सडकको ब्यवस्था गरेर मात्रै ठूलो आगनमा संरचना निर्माण गर्नुपर्ने माग स्थानीयको छ। नगरपालिकाले गर्न लागेको कार्यक्रमको विरोध नभई वैकल्पिक बाटोको माग स्थानीयले गरेको वडा अध्यक्ष कुँवरले बताए। वैकल्पिक बाटो नबनाइ शालिक बनाउन नदिने स्थानीयले बताएका छन्।

गोरखा नगरपालिकाले करिब २२ लाख लागतमा ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्ने काम सुरु गरेको थियो। शालिक निर्माणसँगै हरेक दिन सेनाले परेड प्रदर्शन गर्ने र त्यसले गोरखाको पर्यटन प्रर्वद्धनमा मद्धत पुग्ने नगरप्रमुख कृष्णबहादुर राना मगरले बताए।

सबैको हितका निम्ती यो कार्यक्रम भएको बताउँदै उनले भने ‘शालिक सहित मनोग्राम बन्न लागेको हो, परेडको निम्ती हो, यसले बाटो छेकिँदैन, दमकल पनि आउजाउ गर्न सक्छ,  सवारी साधन जान खुल्ला छ।’ उक्त कार्यक्रम नेपाली सेना सहितको भएकाले बिरोध गरेको खण्डमा तत्काल रोकिने हुँदा काम गर्न दिन नगरप्रमुख रानाले बिरोधमा उत्रिएका स्थानीयलाई अनुरोध गरे।

स्थानीयले भने परेड खेल्ने समयमा सडक अवरुद्ध हुँदा इमरजेन्सी बिरामी वा समस्या परेकाहरुलाई समस्या हुने भन्दै बिच सडकमा बनाउन नहुने बताए। गोरखा संग्रहालय अगाडीको ठूलो आँगनको ऐतिहासिकता मेटिने भएकाले भत्काएर बिच भागमा शालिक बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। केहीले भने शालिक सहित परेड प्रर्दशनले पर्यटन प्रर्वद्धनमा मद्धत पुग्ने बताएका छन्। उक्त शालिक आउँदो पुस २७ गते प्रधानसेनापतीले उद्घाटन गर्ने गरी निर्माणको थालनी भएको थियो। नागरिक

२०७९ मंसिर २७, मंगलवार प्रकाशित