पर्वत : जिल्लाको कुश्मा नगरपालिका–८ चुवा र वडा-११ पकुवा जोड्ने गरी मोदी खोलामाथि बनेको मोटरेवल पुलमा परेको भ्वाङले धेरै नेतालाई गिज्याइरहेको छ। जनताका समस्याको समाधान गर्ने वाचा गर्नेहरूले पुलका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए पनि त्यसो हुन भने सकेन।
सात वटा स्थानीय तहहरू रहेको पर्वतका पाँच वटा स्थानीय तहलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने काम सोही पुलले गर्ने गरेको छ। २०६६ सालको असोजमा निर्माण सम्पन्न भए यता न त पुलले कसैको स्याहार पायो न त मर्मत नै। पुलको क्षमता भन्दा धेरै लोड भएका सवारीहरू पुलबाट ओहोरदोहोर गरे पनि एक दशक भन्दा बढी समय पुलले काम दियो।
तर पछिल्ला २-३ वर्ष यता पुलमा राखिएका फलामका पाताहरू भाँचिने र बाङ्गिने क्रम बढेपछि पुलमा गुड्ने सवारीका पाङ्ग्रा नै भ्वाङमा भासिन थालेपछि मात्रै पुलले चर्चा पायो। केही महिना अगाडि अमृत जोशी स्मृति प्रतिष्ठानले पुलको सामान्य मर्मत गरेर काम चलाएकोमा अब भने सरकारी खर्चबाट नै पुलको मर्मत गरिने भएको छ। पुलले कुश्मा नगरपालिकाका ६ वटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैयुँ गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले बुधबारेदेखि पुलको मर्मत गर्न थाल्ने भएको हो। पुल मर्मतका लागि आगामी तीन हप्तासम्म पुल रहेको दोविल्ला–फलेवास सडक बन्द गरिने भएको छ। सडक विभागमा लामो दबाबपछि मात्रै मर्मतमा चासो देखिएको हो।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यका अनुसार सबै पक्षको छलफलबाट पुल मर्मतका लागि मङ्सिर २८ गतेदेखि पुस १९ गतेसम्म सडक बन्द हुने छ। उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने छ।
२०५६ सालमा ट्र्याक खुलेको दोबिल्ला–फलेवास सडकमा बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो। सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि थोरै वर्षका लागि मात्रै भनेर काम चलाउ पुल निर्माण भयो। पुलमा बिछ्याइएका फलामे पाताको आयु करिब पाँच वर्ष हुने भनिएकोमा त्यही पाताले १३ वर्षसम्म सवारीको लोड थाम्नुपर्दा छत विक्षत अवस्थामा पुगे।
लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेपछि मात्रै सरकारी निकायको ध्यान पुलमा परेको हो। दैनिक सयौँ सवारीहरू ओहोरदोहोर गर्ने पुलमा दैनिक जसो सवारी फस्ने र दुर्घटना हुने समस्याहरू देखिएका छन्। साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता छ।
पुल मर्मत सँगै सोही स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता पनि अध्ययन भइरहेको छ। लामो दबाबपछि सडक विभागले नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो। विभागले चालू वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्ने गरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ।




