फ्रेन्चपासमा ४५ निर्दोष पशुको कारुणिक अन्त्य

|

चिसो छ, चारैतिर सेताम्य हिउँ छ । त्यही हिउँको बिचमा लम्पसार परेका घोडा र खच्चडहरु छन । तर, उनीहरु जीवित छैनन । चिसोले कठ्याङ्ग्रिएर होला, ती निर्जीव घोडा खच्चडहरु काठका खेलौना जस्ता देखिन्छन । लमतन्न परेको खैरो खच्चडको नजिकै अर्को सेतो घोडा छ, अनि त्यसको आडमा अर्को रातो रङको खच्चड । कालो ठूलो ढुंगाको कापमा अड्किएका यी अबोध प्राणीमा ज्यान छैन ।यत्रतत्र भान्सामा प्रयोग हुने आल्मुनियम र प्लाष्टिकका भाँडा छन ।

मरेका खच्चडको माथि उभिएको त्यो सेतो घोडाको नजर तीनै रित्ता भाँडामा छन । त्यसको ठीक विपरीत कालो घोडा पनि अन्नकै आशले अर्कातिर हेरिरहेको छ । उनीहरुका आँखाले अन्नपात खोजिरहेका छन, तर त्यहाँ छ त केवल सेतो हिउँ, चिसो हिउँ र आफ्नै सजातीय जीवको लास ।

ती रित्ता भाँडामा उनीहरुले केही पाउँदैनन, न पत्थरले भोक मेट्न सक्छन् । अन्ततः प्राण धान्नको लागि दुई घोडाको आहारा ती सँगै आएका साथीहरुको लास बन्यो । भुइँमा लम्पसार घोडा खच्चडका पुच्छरसमेत खान उनीहरु बाध्य भए ।

चार हजार ७४८ मिटर माथि रहेको धौलागिरी आधार शिविरको केही तल यो घटना हुन पुग्यो । जहाँ भोक मेटाउन शाकाहारी घोडा मासु खान बाध्य भयो, त्यो पनि साथीकै !
लासमाथि टेकेर भोक खोजिरहेका ती प्राणीलाई यो अवस्थामा पु¥याउने चाहिँ मानवहरु नै हुन । अन्यथा ४५ घोडा खच्चडसँग सँगै गएका मानवहरु मात्र जीवित हुने थिएनन् । उद्धार नै गरेर ल्याउन नसकेता पनि उनीहरुलाई अन्नपातको व्यवस्था गर्न सक्थे ।

घटना दशैँ अगाडिको हो । १७ गते विदेशी पर्यटकका साथ ती ४५ वटा घोडा खच्चड उनीहरुकै सामान बोकेर धौलागिरी आधार शिविरतर्फ लागे ।
दशैँको छेकोमा आधार शिविर पुगेर फर्किने भनेर हिँडेको पर्यटक सहितको टोली भोलिपल्टै हिमपातमा प¥यो । भिषण पानी पर्दा त्यस क्षेत्रमा बाक्लो हिउँ प¥यो । जसका कारण क्याम्पबाट हिँडेको साढे दुई घण्टामा फ्रेन्चपास पुगेपछि यात्रा रोकिन पुग्यो । न अगाडि बढ्ने, न फर्किने त्यस स्थितिमा नौ दिनसम्म १४ जना मान्छे पनि त्यही हिउँमा फसे ।असोज २७ गते हिउँमा फसेका १४ जनाको उद्धार भयो । मान्छेहरु त्यहाँबाट अल्टीच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको माध्यमबाट फर्के ।

उनीहरु फर्केपछि यात्राका साधन घोडा खच्चडको बारेमा कसैले केही थप जानकारी पाउन सकेन । धौलागिरि आधार शिविरसम्म सामान ढुवानी गर्न लगेका थामसेर्कु र र सांग्रिला ट्रेकिङ कम्पनीका ४५ वटा घोडा–खच्चड वर्षा र हिमपातमा परेर त्यतिबेला नै १८ वटा मरिसकेका थिए ।

२० दिन अगाडि त्यस क्षेत्रमा गएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले त्यतिबेला ५÷६ वटा घोडा खच्चड जीवित रहेको आफूले देखेको बताए ।
उनले भने,‘२० दिन पहिला जाँदा ५÷६ वटा थिए । अघिल्लो हप्ता जाँदा चाहिँ कालो र सेतो घोडामात्र जिउँदै थिए । खच्चड सबै मरिसके । ४५ वटा लगेकामध्ये अहिले जम्मा २ वटा बाँकी छन ।’
उनी एकहप्ता अगाडि मात्रै पुनः सोही क्षेत्रमा पुगेका थिए । अलपत्र परेका लासमाथि खाना खोजिरहेको दुई घोडाको तस्वीर पनि उनले नै खिचेका हुन । त्यहाँको अवस्थाबारे उनी भन्छन, ‘मैले एकहप्ता अगाडि जाँदा देखेको हो, दुइवटा घोडा त जिउँदै थिए क्यारे, अहिलेसम्म त खै, भोकले मरिसके कि । त्यो भिडियो मैले नै खिचेको हो, एक हप्ता अगाडि । त्यहाँको स्थिति त के भन्नु, मरेका घोडा र खच्चड खाएर नै ती दुईवटा घोडा बाँचेका हुन । घाँस खान नपाएपछि के गर्नु ।’आजसम्म ती घोडा पनि मरिसकेको हुन सक्ने अनुमान उनले गरे ।

‘ती निर्दोष प्रााणीलाई मैदानमा लगेर छाडिदिनुपर्ने हो, खै ती बाँकी रहेका पनि मरिसके होलान । एनिमल नेपालले मलाई फोन गरेका थिए क्यारे । दुइजना चाहिँ हेर्न जाने भन्दै थिए, जान चाहिँ के गरे थाहा भएन’, उनले भने ।पर्यटकसँग ती घोडाखच्चड धपाउँदै जाने व्यक्ति थिए, माइकल परियार । उनले नै ती घोडा खच्चडको रेखदेख गर्थे । ९ दिनमा उनको त उद्धार भयो, तर उनले पालेका ती जनावरहरु चाहिँ त्यो यात्रामा कहिल्यै नफर्किने गरि छुट्न पुगे ।

उनी भन्छन,‘हामीलाई ९ दिनमा उद्धार गरियो । ९ दिनसम्म हामी पनि हिउँमा नै फस्यौँ । ती घोडा र खच्चडले पर्यटकको सामान लिएर गएका थिए । कपडा, टेन्ट, केही खानाहरु खच्च्डले बोकेका थिए ।’ नोभेम्बर चार तारिकमा गएर नौ तारिकमा फर्किने योजना बनाएर उनीहरु अगाडि बढेका थिए ।

परियारले भने,‘हामी चार तारिकमा यहाँबाट गएका हौँ, पाँच तारिकको दिन त्यस्तो घटना हुन पुग्यो । आँखै अगाडि ४५ घोडा खच्चड हिउँमा पुरिएको हेर्न बाध्य भयौँ ।’त्यस दिन बिहान क्याम्पबाट ८ बजे हिँडेको र साढे दुई घण्टापछि हिउँमा फसेको उनले जानकारी गराए ।‘त्यो दिन बिहान ८ बजेदेखि हाम्रो यात्रा सुरु भयो । क्याम्पबाट त्यस्तै साढे दुई घण्टाको बाटो पार गरेपछि हामी फस्यौँ । हिउँ आएर अगाडि बढ्न नसक्ने फ्रेन्चनपास भन्ने ठाउँमा हामी रोकियौँ । त्यहीँ नै हो, यो घटना भएको हो’ उनले बेलिविस्तार लगाए ।

ती घोडा र खच्चडलाई उनले सँगै लग्थे, सँगै ल्याउँथे ।‘घरमा नै सँगै राख्थ्यौँ हामीले तर यसपटक आफू बाँचेर आइयो, उनीहरु त्यतै छुटे’, उनले भने । पशुकल्याणका क्षेत्रमा काम गर्ने संस्था एनिमल नेपालले पनि यो घटनाबारे चासो राखेको छ । तर, यो संंस्थाले पनि दुइवटा घोडामात्रै जीवित रहेको तस्वीर सार्वजनिक भएपछि थाहा पायो ।

संस्थाकी अध्यक्ष प्रमदा शाहले भनिन,‘कस्तो भयो भने, यतिका दिन बितिसक्यो । हामीले पनि धेरै ढिला थाहा पायौँ । त्यसपछि खोजविन गर्दा ४५ वटा घोडा थियो रे, दुइवटा बाँकी छ भन्ने सुनियो । घोडा खच्चडहरु त्यहाँ फसेपछि उनीहरुको उद्धार भएन, खाना पनि भएन । अहिले जिवित रहेकालाई भए पनि हेलिकप्टरबाट खाना खसालेर भएपनि उद्धार गर्ने कि भन्ने सल्लाह गर्दैछौँ । एकदमै गाह्रो ठाउँ रहेछ । घोडा, खच्चडका मालिकले पनि कसैलाई भनेनन । अब ती दु्इवटा पनि ज्यूँदा छन कि छैनन भन्ने भइसक्यो ।’

संस्थागत तरिकाले अहिले पनि ती दुइवटा घोडा जीवित छ÷छैन खोज्नको लागि हेलिकप्टर कम्पनीसँग कुरा गरेको र जिवित भएको भए हेलिबाटै भएतापनि खानाका व्यवस्था गर्न पहल गरिने उनले बताइन ।
‘टे«किङ एजेन्सीका साथीहरुको सामान पनि छुटेको छ रे, मिल्छ भने अलिकति खाना लगेर दिने, अनि त्यहाँ जीवित रहेछन भने हेलिकप्टरबाट भएपनि खाना खसाउने भन्ने भएको छ । उद्धार गर्ने अवस्था नै छैन रे । हाम्रो विज्ञताको कुरा पनि भएन ।

यस्तो पनि हुँदोरहेछ, बिचरा निर्दोष जनावरहरुको ज्यान जान भएन’शाहले भनिन् ।प्राकृतिक विपतमा जनावरको उद्धारको बारेमा कसैको ध्यान नजानुमा हामी सबैको गल्ती रहेको उनको ठम्याइ छ ।उच्च हिमाली क्षेत्रमा ढुवानीको लागि घोडा खच्चडको सट्टा याकको विकल्प प्रयोग गर्नुपर्ने उनको भनाई छ । तर, याकको मूल्य महंगो भएका कारण ट्रेकिङ कम्पनीहरुले घोडा, खच्चड नै प्रयोग गर्ने गरेका छन ।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित