सयपत्रीको कथा

|

मनसुन निख्रिएर आकाश नीलाम्मे छ । धरतीमा शारदीय फूल मगमगाउन थालेका छन् । धेरैजसोको घर, आँगन, बगैंचामा सयपत्री लोभलाग्दो गरी हाँसिरहेको छ । यो हाँसो सकिँदो दसैं अनि तिहार आगमनको संकेत हो । शब्दको सामान्य रूप हेर्दा सयपत्रीलाई शतपत्रका रूपमा अर्थ्याउन सकिन्छ । आफैँमा फूलको गुच्छा अर्थात् एक पुष्पपुञ्ज । कतैकतै यसलाई ‘हजारी फूल’ वा ‘थुंगे फूल’ पनि भनिन्छ । अंग्रेजीमा ‘मेरिगोल्ड’, हिन्दीमा ‘गेंदा’, नेवारीमा ‘तफ्वःस्वां’, तामाङमा ‘ताफोले’ नामले सयपत्री जति लोकप्रिय छ, उति नै रोचक छ यसको इतिहास ।
धेरैलाई लाग्न सक्छ, सबैजसो नेपालीको घरआँगनमा फूल्ने सयपत्री यतैको रैथाने फूल हो । तर, मध्य र दक्षिण अमेरिका, विशेषगरी मेक्सिकोबाट फैलिएको सयपत्रीको विश्वयात्रा जारी छ । जिसस क्राइस्टकी आमा मेरीको नामसँग जोडिने गरिन्छ– मेरिगोल्डलाई, जसलाई शुभको रूपमा बुझिन्छ । जसले मेरीलाई सिक्का चढाउन सक्दैनथे, उनीहरू सयपत्री फूल चढाएर चित्त बुझाउँथे भन्ने विश्वास छ ।

मेरिगोल्डलाई ‘ट्यागेट्स’ समूहमा सूचीकृत गरिएको छ । यो नाम प्राचीन रोमको एक दैवी अवतार ‘टागेस्’ बाट जुरेको किंवदन्ती छ । एच. हारा, ए.ओ. क्याटर र एल.एच.जे. विलियम्सद्वारा सम्पादित ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भाग तीन (सन् १९८२) पुस्तकअनुसार, नेपालमा सयपत्रीका प्रजाति ट्यागेट्स इरेक्टा, ट्यागेट्स माइनुटा, ट्यागेट्स प्याटुला र ट्यागेट्स टेनुइफोलिया (सिग्नेट मेरिगोल्ड) पाइन्छन ।

वनस्पतिविद् कमल मादेन विभिन्न अभिलेखअनुसार, नेपालमा सयपत्री १ सय २६ वर्षभन्दा पहिलेदेखि नै रोपिने गरिएको बताउँछन् । नेपालका अतिथि फूलमध्ये सबैभन्दा पहिले भित्रिएकै सयपत्री हो । विदेश भ्रमणबाट फिर्दा राणाहरू उतैबाट प्रायः फूलहरू ल्याउने गर्थे । यसरी विभिन्न फूलसँगै सयपत्री पनि नेपाल भित्रिएको मान्न सकिन्छ ।

सन् १४९२ मा क्रिस्टोफोर कोलम्बस अमेरिका पुगेपछि सयपत्री फूल युरोप हुँदै एसियासम्म आइपुग्यो । नेपालमा भने भारतबाटै सयपत्री भित्रिएको हो । सन् १९०७ मा बेलायतका वनस्पतिविद् आइज्याक हेनरी बुर्किल काठमाडौं आएका थिए । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार, सयपत्रीको एउटै भेट्नोमाथि फूलेको प्रत्येक पत्र स्वयंमा आफैँ फूल हो अर्थात् एउटा फूलमा थुप्रै स–साना फूल हुन्छन् । उनका अनुसार, एउटा फूलमा सयौं स–साना पुष्पिका हुन्छन्, जसलाई ‘डिस्क फ्लोरेट्स’ र ‘रे फ्लोरेट्स’ भनिन्छ ।

हाम्रा फिरन्ते पुर्खाले सिकार छाडेर १० हजार वर्षअघि खेतीपाती गरेर एकै ठाउँ बस्न थालेपछि बिस्तारै फल दिने वनस्पति रोप्न थाले । त्यसपछि फूलहरू रोप्न थालिएको मानिन्छ । यो फूलको बीउ सजिलै उम्रिने भएकाले सहजै सबैतिर फैलिएको वनस्पतिविद्को भनाइ छ । अरू फूलको तुलनामा यसको विकासे (हाइब्रिड) एकदमै धेरै हुन्छ । विकासे जातको फूलको आकार ठूलो हुन्छ । रंग, अकार, उचाइ, सुगन्ध सबै हिसाबले यसका दर्जनौं प्रजाति निकालिएका छन् । विभिन्न प्रजातिमध्ये ‘ट्यागेट्स इरेक्टा’ को सबैभन्दा धेरै हाइब्रिड निकालिएको छ ।

वनस्पतिविद्हरूका अनुसार, मेक्सिको र नेपालको अक्षांश मिल्छ । फूल फुल्न आक्षांशको एकदमै महत्त्व हुन्छ । कति घण्टा घाम लाग्छ, कति घण्टा अँध्यारो हुन्छ भन्ने कुराले फूल फुल्ने÷नफुल्ने समय निर्धारण गर्छ । प्रकाश भए फूल फुल्छ, नभए फुल्दैन । दिन र रातको लम्बाइको हिसाबले नेपालको अक्षांश मेक्सिकोसँग मिल्छ । ‘हाम्रो बगैंचामा ६० प्रतिशतभन्दा बढी फूल त्यतैतिरको हुन्छ । त्यसैले सयपत्रीले अरू देशको भन्दा उपयुक्त ठाउँ नेपाल भेटेको छ,’ डा. श्रेष्ठ भन्छन्, ‘नेपालको ल्याटिच्युड, अल्टिच्युड र ट्रोपिकालिटीको हिसाबले फूलहरू फस्टाएका छन् ।’ सयपत्री समुद्री सतहको २२ देखि २५ सयसम्मको उचाइमा फुल्न सक्छ ।

किन यति लोकप्रिय ?
विशेषगरी चाडपर्वमा नभई नहुने फूल हो– सयपत्री । फूलैफूलको पर्व तिहारमा झन् सयपत्रीको विशेष महत्त्व छ । धेरैजसो फूल मनसुन सिद्धिएपछि फुल्दैनन् । त्यसैले पनि यो समयमा अर्थात् मनसुनपछि फुल्ने सयपत्री लोकप्रिय बनेको हो । तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘फूलमा हामी कमजोर र फल प्रधान हुने बेला हो– शरद ऋतु । अहिले कुनै फूल फुल्दियो भने त्यसको महत्त्व अझै धेरै हुन्छ । त्यसकारण पनि सयपत्री सबैलाई मन पर्छ ।’ उनका अनुसार, सबैतिर हुने र धेरै स्याहार पनि नचाहिने यो फूलको ‘एडेप्टिभ क्यापासिटी’ अरूभन्दा निकै बलियो छ । छोटो अवधिमा फुल्ने सयपत्रीका रङ, आकार र प्रकार पनि धेरै हुन्छ । अरू फूलको तुलनामा यसलाई उमार्न सजिलो हुन्छ ।

औषधीय गुण
तेल, मल्हम, फेस प्याक, चिया आदिमा पनि सयपत्री उपयोगी छ । पहिले–पहिले केसरको सट्टा सयपत्रीकै रङ प्रयोग गरिन्थ्यो । सुपमा पनि यसलाई समावेश गरिन्थ्यो । खानेकुरा सजाउन पनि सयपत्री प्रयोग गरिन्छ ।रोबर्ट ट्रोस्टल नेहेरले सन् १९६८ मा लेखेको ‘द इथ्नोबोटनी अफ ट्यागेट्स’ जर्नल लेखमा यसको आदिवासी प्रयोगबारे उल्लेख गरिएको छ । यसमा धेरैथरीको केमिकल कम्पाउन्ड छन् । यो फूल दुखाइ कम गर्ने औषधिमा गनिन्छ साथै ब्याक्टेरियल इन्फेक्सन हुन नदिन यो प्रयोग गरिन्छ । कीराले टोकेको भागमा फूल वा पात रगड्दा पीडा कम हुने आयुर्वेदविज्ञ बताउँछन् । यसको प्रयोगले पाचन प्रणालीलाई पनि सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।सयपत्रीमा कीटनाशक गुण पनि छ । सयपत्री रोपेका ठाउँमा कीरा आउँदैनन् । प्राकृतिक रूपमै कीरा भगाउने काम यसले गर्छ ।

बगैंचामा अरू फूलसँग मिसाएर यो फूल रोपे लामखुट्टे कम आउन सक्छ । यो एन्टिफंगल, एन्टिब्याक्टेरियल र एन्टिफ्लेमेटरी हुने भएकाले सयपत्रीको लेपले छालाको सौन्दर्य बढाउनुका साथै छालासम्बन्धी रोगबाट जोगाउँछ । पेटसम्बन्धी रोग, ग्यास्ट्रिक निको पार्नर्, जन्डिस, पायल्समा हितकारी यो फूलको रसले महिनावारी नियमित बनाउन पनि सहयोग गर्ने आयुर्वेदविज्ञ डा. प्रकाश ज्ञवाली बताउँछन् । स्वरस ५ थोपा दिनको २ पटक, चूर्ण दिनको २ वा ३ ग्राम वा आधा थुँगा फूललाई ५०० मिलिको चिया बनाएर खान सकिन्छ। इकान्तिपुरबाट साभार गरिएको बुनु थारुको लेख ।

२०७९ कार्तिक ८, मंगलवार प्रकाशित