बिक्रम बोगटी
केही बर्ष पहिले सम्म स्कुले जिवनमा अटो भर्ने चलन थियो , त्यो अटोमा आफ्नो तस्वीर सहित विचारहरु भर्ने गरिन्थ्यो , त्यसमा राजनिती (politics ) भनेर एउटा अप्सन हुने गर्दथ्यो र त्यस विधामा अधीकासंले राजनिती एउटा फोहोरी खेल हो भनेर लेखेको पाइन्थ्यो । राजनीति प्रतिको त्यो बुझाइले भविस्यमा तयार हुन लागेको पुस्तालाइ सक्रिय राजनीतिको पाटो वाट अलग राख्न खोजिरहेको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो अझै भन्नू पर्दा व्यापक वितृस्णा पैदा गरेको थियो भन्ने नै हो ।
त्यो अटो, चिट्ठी पत्रको समय र अहिलेको सोसल मिडिया र व्यापक ईन्टरनेट प्रयोगको डिजिटल युगिन समयमा पनि आफ्नो फेसबुक र टुइटर हरुमा युवा पुस्ताको अभिव्यक्त बिचार हेर्ने हो भने राजनीति प्रतिको बुझाइ पुरानै पुस्ताको बुझाइ अनुसारको देखिन्छ ।
अहिलेको पुस्तालाई खासै राजनीति प्रती चासो नरहेको र यस प्रती प्रतिक्रिया दिनु परे पनि यसलाइ घृणाको भावले हेरेको प्रस्ट रुपमा बुझ्न सकिन्छ । राज्य संचालनको नीति , सम्पुर्ण नितिहरुको राजा , राजनिति यो त बडो महत्त्वपूर्ण विषय हो , सहभागी हुनु पर्ने विषय हो भनेर बुझ्नुको साटो यसरी वितृस्णामय कसरी वन्न पुग्यो त ? किन यसो भयो त ? गम्भीर प्रस्न चिन्ह खडा भएको छ ।
रास्ट्रमा तयार हुने पुस्ता र आम मानिसले राजनिती लाई यसरी बुझ्न थाले भने त त्यो समाज र रास्ट्रको समृद्धि र विकासको परिकल्पना त गर्न सकिँदैन , राजनीति बुझेको समाज र रास्ट्र निर्माणको हरेक निकाय र कार्यहरुमा प्रत्यक्ष संलग्न रहने पुस्ता र आम मानिस तयार वने भने मात्र नै समाज र रास्ट्रले गति लिने हो ।तसर्थ राजनीति प्रतिको सकारात्मक बुझाइका लागि , यसप्रतिको आकर्षणको लागि राजनीति गर्ने व्यक्ति परिवर्तन हुन जरुरी छ , राजनीतिको उच्च अहोदामा पुग्नेहरुको सोच र विचारमा परिवर्तन आउन जरुरी छ ।
जब नेता र नेतृत्व तयार हुने मुहान सफा र पवित्र हुन्छ तब मात्र असल नेता तयार हुन्छ्न अनि समाज र रास्ट्रले चाहे जस्तो प्रगती सम्भव हुन्छ । तर अहिले अवस्था भिन्न छ अहिले तयार भइरहेको राजनितिक नेतृत्व र पहुँचमा पुगेका पात्रहरू लाई हेर्दा नै सजिलै अनुमान लगाउन सकिन्छ कि परिपाटी कस्तो किसिमको विकास भइरहेको छ र हामी कता तिर गइरहेका छौँ । राजनीतिक दल हरुको वडा तहको नेतृत्व हत्याउनको लागि समेत हुने गरेका पद, पैसा र पहुँचको खेल तथा शक्ति संघर्षहरुलाई हेर्दा बुझ्न सकिन्छ कि वर्तमान अवस्था कसरी संचालित भइ रहेको छ ।
अहिले वनिरहेका नेता र नेतृत्व हेर्दा विचार र भिजन दिन सक्ने , राजनीति र समाजसेवामा आफ्नो जीवन समर्पित गरेका भन्दा पनि कति पैसा खर्च गर्न सक्ने , कुन ब्रान्डको गाडी चढ्ने , कुन तहको दलाली र ठेकेदारी गर्ने , कुन लेवलको रक्सी खुवाउन सक्ने , कुन देश वाट कति पैसा कमाएर आएको भन्ने कुराहरु लाई नेताको योग्यता (qualification ) , चुनावमा टिकट पाउने आधारको रुपमा हेर्न थालिएको प्रस्ट बुझ्न सकिन्छ ।
मूल्य मान्यता र निस्ठाको राजनीतिलाई तिलान्जली दिएर यस्तो विकृत किसिमको राजनीति हावी हुँदा खेरी नेतृत्व गर्छु भन्ने हरु जवरजस्त रुपमा पैसा जम्मा गर्न तिर लागेको देखिन्छ , सोही कारणले ५० हजारको उपभोक्ता समिती देखि करोडौंको ठेक्का पट्टा समेत सेटिङमा झ्वाम पार्ने प्रवीर्ती मौलाइरहेको छ ।
भ्रष्टाचार व्याप्त छ , देश यथास्थितिमा छ र आम नेपाली जनताको जिवनस्थर ज्यु का त्यु छ । समाज र रास्ट्र निर्माणमा लाग्छु भनेर कसम खाइ पहुँचमा पुगेकाहरु आफू वन्ने , आफ्नो परिवार वनाउने , आफ्ना नातागोता आफन्त वनाउने तर्फ जोडतोडका साथ लागि रहेका छन । अवस्था विकराल वन्दै गइरहेको छ तसर्थ यस्तो अवस्था लाई न्यूनीकरण गर्दै सकारात्मक परिवर्तनको पथमा अगाडि बढ्न राजनीतिमा मौलाइ रहेको धनवाद र डनवादको संस्कृतीलाई निरुत्साहित गर्नै पर्छ ।
एउटा सामान्य गरिव परिवारको , दुरदराजको , पिछडिएका वर्गको व्यक्ती पनि पहुँचमा आउने , निर्वाचनमा जुन सुकै पदमा टिकट प्राप्त गर्ने खालको वातावरण तयार गर्नु पर्छ तब मात्र राजनीति प्रतिको आम बुझाइमा बिस्तारै सकारात्मक परिवर्तन आउने छ संग संगै यस्ले नेपाली समाजलाइ उन्नतिको मार्गमा अगाडि बढाउन मद्धत गर्ने छ ।
२०७९ बैशाख १, बिहीबार प्रकाशित