रुसी सैनिकलाई रोक्न यूक्रेनी जनता सडकमा

|

रुस–यूक्रेनबीचको युद्ध निर्णायक मोडतिर पुगेको छ । रुसले मुख्य–मुख्य सहरलाई कब्जा गरिसकेको छ भने कीभलाई नियन्त्रणलाई लिन चारै तर्फबाट घेराबन्दी गरिरहेको छ । रुस–यूक्रेन युद्धको आठौं दिन कीभमा भिषण युद्ध चलिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, रुसी सैनिकलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिन हजारौं संख्यामा यूक्रेनी जनता निहत्थै सडकमा निस्किएका छन् । रुसी सैनिकलाई बाटो नदिन यूक्रेनी जनता निहत्थै रुपमा सकडमा निस्किएका हुन् ।

 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमार्फत सडकमा निस्किएका जनताको तस्बिर सेयर गर्दै “रुसले जित्न नदिने” बताएका छन् ।

उनले जनताहरु प्रतिरोध गर्न निस्किसकेको भन्दै सहयोगको अपिल पनि गरेका छन् । उनले हवाई क्षेत्रमा सहयोग गरे रुसी सेनालाई पराजित गराउन सक्ने बताएका छन् ।

युक्रेनमा जारी द्वन्द्वमा ९ हजार रुसी सैनिकको मृत्यु भएको दाबी

युक्रेनमा जारी यो युद्धसँग सम्बन्धित दाबी दुवै पक्षबाट भइरहेको छ । युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म नौ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ ।

एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको द्वन्द्वमा आफ्ना ४९८ सैनिक मारिएको र १५९७ घाइते भएको स्वीकार गरेको थियो ।

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित