रघुगंगाबासीलाई निशुल्क रगत

|

म्याग्दीको रघुगंगा गाउँपालिकाबासीले बेनी अस्पतालमा उपचारको क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य सेवा प्रदान गर्ने गरी सम्झौता नविकरण गरेको छ ।  गाउँपालिकाबाट बेनी अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्करुपमा गराउने गरिएको छ । निशुल्क रगत उपलब्ध गराउन गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र नेपाल रेडक्रस सोसाईटी बेनी शाखाका प्रमुख लेखबहादुर हमालले हस्ताक्षर गर्नुभएको छ ।

यसअगाडी रघुगंगाबाट बेनी अस्पतला तथा रिफर गरी पोखरा लैजानुपर्ने बिरामीले ५१ पिन्ट रगत प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्रका बिरामीले रगतमा कुनै मूल्य तिर्नुपर्दैन,‘यो सेवालाई निरन्तरता दिएका छौ,‘जटिल समस्यामा परेका बिरामीलाई समेत कुनैपनि अभाव हुन नदिने गरी सहजीकरण गरेका छौ’ सुबेदीले भन्नुभयो ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष भण्डारीले विरामीको उपचारमा रेडक्रस र बेनी अस्पतालसँग सहकार्य गरी विभिन्न काम गरिएको बताउनुभयो ।‘गाउँबाट पठाइएका बिरामीको उपचारमा अस्पतालबाट पनि आवश्यक सहकार्य भइरहेको छ,‘पालिकाभित्र अस्पताल सञ्चालनमा आउनु अगाडी जिल्लाको अस्पतालसँग सहाकार्य गर्नेछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।  रेडक्रस सोसाईटीका सभापति हमालले रघुगंगाले गतबर्षदेखि पालिकाभित्रका बिरामीलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन सुरु गरेको बताउनुभयो।

रगत निशुल्क भएपनि रगत राख्ने झोला, रगत परीक्षणमा शुल्क लाग्ने गरेकाले गाउँपालिकासँग गरिएको सम्झौता अनुसार नै सेवा प्रवाह गरिने बताउनुभयो । बेनी अस्पताल परिसर भित्र रहेको रक्तसञ्चार केन्द्रमा एक प्वाइन्ट रगतका लागि किटहरु खरिद गर्नुपर्ने र केन्द्रले प्रति प्वाइन्ट ८ सय ९० रुपैयाँ लिने गरेको छ । यसबर्ष गण्डकी प्रदेशले रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ बिरामीले प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय समेत गरेको भएपनि कार्यान्वयन भएको छैन् ।

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित