पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो । विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए ।
यसै आर्थिक वर्षदेखि लागू हुने गरी फलेवासभित्र बसोबास गर्ने एकल पुरुष, एकल महिला, श्रीमान्–श्रीमती बेपत्ता भएका महिला–पुरुषले मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउनेछन् ।
भत्ता वितरणका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरेको छ । नगरपालिकाले ५० देखि ६० वर्षसम्मका एकल महिलालाई पनि मासिक एक हजारका दरले रकम उपलब्ध गराएको छ । ६० देखि माथिल्लो उमेरका महिलालाई केन्द्र सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले उनीहरूलाई भने समेटिएको छैन ।
नगरपालिकाले हालै घुम्ती शिविर सञ्चालन गरेर त्यस्ता पुरुष तथा महिलालाई गएको साउनदेखि माघसम्मको सात हजारका दरले भत्ता वितरण गरिसकेको छ । तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य सामाजिक सुरक्षा नपाउने नागरिकले मात्र यस्तो खालको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरुआत भएमा त्यस्ता व्यक्तिको भत्ता स्वतस् हट्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । महिला वा पुरुष विवाह नगरी बसेको अवस्थामा ५० वर्ष कटेको हुनुपर्ने व्यवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठका अनुसार नगरपालिकाबाट भत्ता पाउने विदुर ९एकल० पुरुष तथा एकल महिलाको संख्या ८५ छ । जसमध्ये विदुरको संख्या मात्रै ७० छ । निम्न आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
पहिलो चरणमा हरेक वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेर त्यस्ता महिला पुरुषलाई भत्ता वितरण गरिएको हो । हालसम्म फलेवास २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा हरेक लाभग्राहीलाई नगद र अर्कोपल्ट बैंकिङ प्रणालीमार्फत भत्ता उपलब्ध गराइने नगरप्रमुख शर्माले बताए । ekantipur.com बाट साभार