बैंक गइरहेकी वृद्ध महिलासँगबाट १७ लाख रुपैयाँ लुटियो, आफ्नै छोराबुहारी निस्किए ‘लुटेरा’

|

बैंकमा पैसा जम्मा गर्नको लागि गइरहेकी वृेद्ध महिलाको साथबाट दिनदहाडै १७ लाख रुपैयाँ लुटिएको घटनामा लुटपाट गर्नेहरु ती वृद्ध महिलाकै छोराबुहारी भएको खुलासा भएको छ । अनुसन्धानको क्रममा महिलासँगबाट पैसा लुट्ने योजना उनकै छोराबुहारीले बताएको खुलासा भएपछि पुलिस अधिकारी नै चकित परेका थिए ।

भारतको बिहारको पटना सहरको मालसमाली थाना क्षेत्रको चुटकिया बजारकी वृद्ध महिला गिरिजा देवी आफ्नी बुहारी शोभा रानी र आफ्नी छोरीको साथमा जग्गा बेचेको पैसा बैंकमा जम्मा गर्न गइरहेकी थिइन् । यस क्रममा भैसानी टोला क्षेत्रमा महिलाका अर्का छोराको घर नजिकै तीन जना पैदल लुटेरा आए र हवाइ फायर गरेर १७ लाख रुपैयाँसहितको झेला लुटेर भागे ।

गिरिजा देवी यसलाई भाग्यको खेल सम्झेर चित्त बुझाएर बसेकी थिइन् । तर, अब पुलिसले यसको खुलासा गर्दा उनी आफैंले विश्वास गर्न सकिनन् । वृद्ध महिलाका अनुसार उनले हालै पीरबहोर थाना क्षेत्रमा रहेको पुरानो घर बेचेकी थिइन् । यही पैसाबाट चुटकिया बजारमा नयाँ घर किनेकी थिइन् । १३ लाख उनले नयाँ घर किनेका व्यक्तिलाई दिइसकेकी थिइन् । उनलाई अझै १७ लाख रुपैयाँ दिन बाँकी थियो ।

महिलाका अनुसार उनले घर किनेका व्यक्तिले बाँकी पैसा ड्राफ्ट पेमेन्टमार्फत लिने बताएका थिए । यसैका लागि उनी पैसा लिएर बैंक ड्राफ्ट बनाउन गइरहेकी थिइन् । पैसा लिएर उनी आफ्ना छोरा विष्णु कुमारको घर गइन् । त्यहाँबाट बुहारी शोभा रानी को साथमा पैसा जम्मा गराउन गइरहेकी थिइन् । यसै क्रममा बाटोमा उनीसँगबाट पैसा लुटियो ।

पटना सिटी डिएसपी अमित शरणले घटनाको अनुसन्धानपछि महिलाका छोरा र बुहारीले एक षड्यन्त्र रचेर अज्ञात अपराधहिरुको सहयोगमा लुटपाट गराएका थिए । डिएसपीका अनुसार आरोपी छोरा र बुहारीलाई पक्राउ गरिएको छ । उनीहरुका छोरा अर्थात वृद्ध महिलाका नाती नाती भने फरार छन् ।

२०७८ माघ १९, बुधबार प्रकाशित