उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड ।
बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन् ।
स्थानीयवासी सुनिता बोगटीले आफ्नो घरअगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी थिएन । घरअगाडि कालोपत्र सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनि दङ्ग छन् ।
केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।
कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ । तर शनिबार माघेसङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो ।
बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको सङ्ख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो । “तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ,” स्थानीयवासी भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने । उनका अनुसार, तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ ।
तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ । “तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,” महतले भने ।
तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । उता बेनी–४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताइन्। “टिकटकमा देखेको भन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो,” उनले भनिन् । कालोपत्र सडकबाटै तस्बिर लिँदासमेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए ।
पूर्वसूचना विना प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो । स्थानीयवासीले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए । यता बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ । रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ ।
नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका पहेँलो तोरी खेती हुन्छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ । साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थिए । तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तेरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ । तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन मागसमेत गरेका छन् ।
छिमेकी जिल्ला बागलुङको कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ । तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ ।