पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण हुँदै आएको पानीको ‘पाइप लाइन’ मर्मत गरेपछि बुधबारदेखि पानीको आपूर्ति सहज बनेको छ।गत सोमबार रातीको वर्षाले कुश्मा नगरपालिका–८ चुवामा रहेको सुन्दरे खोला नजिकैको भीरमा पहिरो जाँदा पाइन नै लच्किएर पानीको धेरै परिमाण चुहावट भएपछि बजारमा पानीको केही अभाव भएको थियो। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जिल्लाकै मोदी गाउँपालिकामा स्थित पाती खोलाबाट १८ किलोमिटर लम्बाइको ‘पाइप लाइन’ मार्फत ल्याएको पाइपमा क्षति भएपछि बजारका कतिपय क्षेत्रमा पानीको आपूर्ति हुन सकेको थिएन भने आपूर्ति भएको ठाउँमा पनि माग अनुसारको पानी पठाउन नसकिएको संस्थाका अध्यक्ष रबीकुमार श्रेष्ठले बताए।
‘पाति खोला प्रसारण लाइन अन्तर्गत सुन्दरे खोलामा गएको पहिरोले गर्दा खानेपानीको पाइप नै लच्केर गएको थियो। कुश्मामा हिउँद बर्खा दुवै समयमा पानीको आपूर्ति गर्ने मुख्य स्रोत पनि यही नै हो। यसैमा समस्या आएपछि आपूर्तिमा समस्या भइहाल्छ’, उनले भने, ‘मङ्गलवार खरेहा र गोदाम ट्याङ्कीबाट चल्ने सम्पूर्ण धाराहरूमा खानेपानी अवरुद्ध भएको थियो। बुधवार भीरमा चढेर ‘पाइप लाइन’ को मर्मत गरेपछि पानी पहिले जस्तै आइरहेको छ।’
कुश्मा बजारमा दैनिक २५ देखि ३० लाख लिटरसम्म पानीको माग हुने गरेको छ। हिउँद र गर्मी याममा बढीमा दैनिक आठ लाख लिटर मात्रै पानी वितरण हुने गरेको छ। बर्खा नलागेसम्म पानीको सहज आपूर्ति नहुने कुश्मा बजारमा बर्खाको बेलामा पनि बाढी र पहिरोका कारण पानीको आपूर्तिमा समस्या हुने गरेको छ।
भीर र पहिरोग्रस्त क्षेत्रबाट १८ किलोमिटरको दूरीमा फलामे पाइपमा पानीको आपूर्ति गर्दा बर्खाको याममा निकै कष्ट भोग्नुपरेको छ। संस्थाले बेला बेलामा मर्मत गर्दै आइरहेको भए पनि बर्खा याममा भीरबाट खस्ने पहिरो र ठूला ढुङ्गाहरूले फलामे पाइप भाँच्दै क्षतविक्षत बनाउने गरेका छन्। वर्षौँ अगाडि बजारको न्यून जनसंख्यालाई हेरेर पानीको आयोजना निर्माण गरिएको भए पनि अहिले बजारमा जनसंख्या ह्वात्तै बढेको छ। तर पानी आपूर्तिको शैली परम्परागत नै रहेकाले अब आधुनिक र नयाँ सामग्रीहरूबाट पानीको आपूर्ति गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठले बताए। अर्को आयोजना नभएसम्म पूर्ति गर्न नसकिने अवस्था आएको छ र अर्को योजनाका लागि सङ्घीय सरकारमार्फत विभागमा प्रस्तावना दिएको उनको भनाइ छ।
अर्को आयोजना नबनाएसम्म हिउँदमा पानीको आपूर्ति हुन सक्ने अवस्था नरहेकाले कुश्मा बजारमा पानीको व्यवस्थापनका लागि सबैले चासो दिनुपर्ने भएको छ। विभागमा माग गरिएको योजना स्वीकृत भएर आए अहिले सबै संरचना हटाएर नयाँ संरचनाको विकास गर्नुपर्ने अवस्था छ।
पातीखोलाबाट प्रतिसेकेन्ड १७ लिटरका दरले पानीको आपूर्ति हुने गरेको छ। खोलाको पानी भएकाले हिउँद र बर्खा दुवै समयमा त्यहाँको पनि यही परिमाणमा आउने गरेको छ। तर कुश्मामा पानीको आपूर्ति हुने गरेको प्रमुख मुहान भने कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो। बर्खाको समयमा तर्नै नसकिने बन्ने क्यादी खोलामा हिउँदको समयमा भने पानी भेटाउन नै मुस्किल हुन्छ। यो खोलाबाट बर्खा याममा प्रतिसेकेन्ड करिब ३५ लिटर पानी आपूर्ति हुने गरेकोमा हिउँदमा भने १० लिटर मात्रै आउने गरेको छ।
विगतमा पानीको आपूर्ति हुँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतको नजिकै रहेको डम्डारे खोलाबाट हुने आपूर्ति पूर्ण रूपमा बन्द रहेको छ। उक्त खोलाबाट पाइपमार्फत पानी ल्याइएको भए पनि बाढी र पहिरोले पानी बगेको सतह नै नदेखिँदा थोरै मात्रामै भए पनि आउने गरेको पानी बन्द भएको छ।
हिउँद लाग्नासाथ पानीको अभाव हुने र यसले दैनिकीलाई प्रभाव पारिरहेको गुनासो बढेपछि संस्थाले जिल्ला प्रहरी कार्यालय नजिकै २०७८ चैतमा ‘बोरिङ’ गरेर पानी निकाल्न सुरु गरिएको थियो। प्रतिसेकेन्ड पाँच लिटर पानी तान्ने गरेको ‘बोरिङ’को ‘मोटर’ समेत केही केही समयदेखि काम नगरेको अवस्थामा छ।
शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको आपूर्ति लिने घरको संख्या करिब दुई हजार छ सय भन्दा बढी पुगेका छन्। थाहाखबर




