एमाले म्याग्दीको अध्यक्षमा कटुवाल

|

नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन्।

शुक्रबार सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। रघुगंगा गाउँपालिका–२ राखु निवासी नेता कटुवाल एमाले म्याग्दीको यस अघिको जिल्ला कमिटीमा उपाध्यक्ष थिए।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित छन्। उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, र उपसिचवमा थमसरा पुन र राजकुमार थापा रहेका छन्।

अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार सचिव बालकृष्ण सुवेदीले अध्यक्षमा कटुवाललाई नै समर्थन गरेपछि अध्यक्षमा सर्वसम्मत रुपमा कटुवाललाई चयन गरिएको नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बताए।

एमाले म्याग्दीको ९० सदस्यीय नेतृत्व चयनका लागि पदाधिकारी ५, भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना समेत सर्वसम्मतिले चयन गरिएको छ।  अधिवेशनका लागि सल्लाहकार परिषद, जिल्ला तथा पालिका कमिटी, वडा र जनवर्गीय सङ्गठनबाट गरी कुल ५ सय १० जना प्रतिनिधिहरु सहभागी थिए।

२०७८ पुष २५, आईतवार प्रकाशित