गण्डकी प्रदेश सरकारले फेरि फुटायो मन्त्रालय

|

नियुक्तीको साढे दुई महिनापछि गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असोज २५ गते नियुक्त भएका मन्त्री डोबाटेलाई मन्त्रालयको व्यवस्थापन गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू मातहतमा रहेको आन्तरिक मामिला फुटाउने भएका छन् ।

गण्डकीमा यसअघि नै १२ जना मन्त्री भएतापनि विनाविभागीय रहेका डोबाटेलाई विभागीय जिम्मेवारी दिन मुख्यमन्त्रीले आफ्नो मन्त्रालय टुक्र्याएका हुन् । यसअघि डोबाटेलाई विभिन्न प्रतिष्ठान हेर्ने गरि जिम्मा दिने र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत राख्नेसम्मको चर्चा चलेको थियो ।

मन्त्री विक गण्डकीमा पहिलोपटक नियुक्ती पाउने हल्ला चलेर नपाएका सांसद हुन् । उनलाई तेश्रोपटकको मन्त्रिपरिषद् विस्तारमा मन्त्री नियुक्त गरिएको हो ।मन्त्री विकका स्वकीय सचिव हिरालाल विकले जिम्मेवारी दिनेबारे मौखिक जानकारी आएको बताए । तर, कहिलेदेखि मन्त्रालय सम्हाल्ने भन्नेबारेमा कुनै निर्णय नभएको उनले जानकारी दिए ।

मन्त्रीमा नियुक्त भएपछि विकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक कोठा प्रयोग गर्दै आएका थिए ।तत्काल भवन व्यवस्था नहुँदासम्म आन्तरिक मामिला मन्त्रालय त्यही कोठाबाटै सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बतायो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले सोमबारको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको कार्यविभाजन नियमावलीको अनुसूची संशोधन गरेको बताए । उक्त संशोधनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आन्तरिक मामिला संशोधन गरेको छ ।यो निर्णयसँगै गण्डकीका मुख्यमन्त्री पोखरेलले सँगै आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् । यही मन्त्रालय डोबाटेलाई दिनेगरि फुटाइएको हो । उनलाई कुन भवन दिने, कहाँ राख्ने भन्नेबारे केही टुंगो लागेको छैन ।

तत्कालका लागि गण्डकीको मुख्यमन्त्री रहेको भवनमा नै चारवटा मन्त्रालय रहनेछन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदसँगै कानून सञ्चार तथा प्रदेशसभा र अर्थ मन्त्रालय छन् । यहाँ अब तत्कालका लागि आन्तरिक मामिला पनि थप हुने भएको हो ।

संविधानले कुल प्रदेशसभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । गण्डकीमा ६० सदस्यीय (एक रिक्त) प्रदेशसभा छ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा ११ मन्त्रालय रहेकोमा आठ मन्त्री थिए । गुरुङले जेठ पहिलो साता कार्यविभाजन नियमावली संशोधन गरेर आठबाट ११ मन्त्रालय बनाए पनि मन्त्री नियुक्त गरेका थिएनन् ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वमा गत २९ जेठमा गठबन्धन सरकार बन्यो ।जेठ २९ र साउन ८ गरि दुइपटकको मन्त्रिपरिषद विस्तारमा मुख्यमन्त्री पोखरेलले ११ मन्त्री बनाए । अहिले फेरि एउटा मन्त्रालय थपिएको हो । गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीसहित पाँच, माओवादीका चार, जसपाका दुई र एक स्वतन्त्र सांसद मन्त्री छन् ।

डोबाटेलाई मन्त्री नियुक्त गर्ने विषयमा गठबन्धनको अर्को घटक माओवादी केन्द्रले विरोध जनाएता पनि उक्त पार्टीका अध्यक्ष प्रचण्डले नै विकलाई मन्त्री बनाउन कांग्रेसका नेतासँग आग्रह गरेका थिए ।

मन्त्री नियुक्त भएपछि उनी मुख्यमन्त्रीसँगै कार्यक्रमहरुमा देखिने गरेका छन् । सोमबार मुख्यमन्त्री पोखरेलसँगै मन्त्री विक, अर्का मन्त्री मेखलाल श्रेष्ठ पर्वत पुगेका छन् । मन्त्री डोबाटे हालै सम्पन्न नेपाली कांग्रेसको चुनावमा केन्द्रीय सदस्यमा पराजित भएका हुन् । Source: janamanch.com

२०७८ पुष १२, सोमबार प्रकाशित