अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ गठन

|

सीप र क्षमतालाई विश्वबजारमा पहुँच अभिवृद्धि र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना भएको छ।


विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण लगायत गर्नेछ।

उक्त संस्थाको शनिबार पूर्व राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘जन्मभूमिलाई कसरी आर्थिक रुपमा समृद्धि बनाउने भन्ने तपाइँ युवाहरुमा सपना र भिजन रहेको छ। त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ,’ उनले भने।

उनले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराउनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक उपमहानिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी द्धिराज शर्मा, पर्यटन व्यवसायी सुमन पाँडे लगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा संघका महासचिव समिर अनबरले देश तथा विदेशमा सीप जानेका युवालाई महासंघमा आबद्ध हुन आग्रह गरे। महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए।

२०७८ मंसिर १९, आईतवार प्रकाशित