मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ ।
यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र सङ्घसंस्थाले बिहीबारदेखि १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्दै छन् ।
नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड : इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ ।
सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउने उद्देश्यले सङ्घ, प्रदेश, जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ ।
अभियानको सन्दर्भमा १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यास, कोभिड–१९ को असरलगायतका विषयमा अन्तरक्रिया गरिनेछ ।
साथै सन्देशमूूलक होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सन्देश दिएर महिला हिंसाविरुद्ध जागरणमूूलक कार्यक्रम आयोजना गरिने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।