आफन्त कोही नभेटिँदा घाइते पैदलयात्रीको उपचार गर्न समस्या

|

कात्तिक १७ गते बुधवार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका–१ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५०३१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए। उनी अचेत रहेकाले निजको हालसम्म पनि नामथर खुल्न सकेको छैन ।

यसका कारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । अन्दाजी ३५–४० वर्षका देखिने ती पुरुषको अनुहार र टाउकामा गम्भीर चोट लागेको छ । तिमिल्सेनाले भने, ‘हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौं तर भेटाउन सकिरहेका छैनौं ।’

२०७८ कार्तिक २०, शनिबार प्रकाशित