घरेलु उद्यमीलाई झिनियाँको माग थेग्नै मुस्किल

|

तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि रामपुरका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका घरेलु उद्यमीले तयार गर्ने झिनियाँ रोटीको माग पाल्पालगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो ।

 

‘‘झिनियाँको माग अत्याधिक भएका कारण रातदिन नभनी काम गरिरहेको छु’’,  उहाँले भन्नुभयो, “यही सिजनमा रु छ देखि सात लाखसम्मको झिनियाँका परिकार बिक्री गर्ने लक्ष्य छ ।” उहाँको दैनिकी यतिखेर झिनियाँ बनाउँदैमा बितेको छ । उहाँले तिहारको अवधिमा मात्रै ९० क्वीन्टल बढी झिनियाँ बिक्रि गरिसक्नुभएको छ । उहाँ रामपुरमा व्यवसायिक रुपमा झिनियाँ उत्पादन गर्ने पुरानो उद्यमी हुनुहुन्छ । झिनियाँको माग बढी आउन थालेपछि श्रेष्ठले यस व्यवसायमा आठ जनालाई रोजगारीसमेत दिएको छ ।

“गतवर्षको तिहारमा कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सोँचेजस्तो व्यापार भएन, यस पटक भने धेरै माग आएको छ तर पु¥याउनै नसकिने अवस्था छ, बिहान देखि साँझ सम्म झिनियाँ बनाउने र बेच्ने कार्य निरन्तर चलिरहेको छ”, उहाँले भन्नुभयो । एक दशकभन्दा बढी समय झिनियाँ बनाउने कार्यमा संलग्न रहनुभएकी श्रेष्ठलाई झिनियाँ उत्पादन सम्बन्धी राम्रो ज्ञान र सीप छ । उहाँको पुरानो व्यवसाय भएकाले पनि ग्राहकको धेरै भीड यहाँ लाग्ने गर्दछ् । “बिहान देखि साँझ आँखाले ठम्याउँदा सम्म झिनियाँ बनाउने हो, तिहारमा दिन बितेको पत्तो नै हुँदैन, ग्राहकलाई पु¥याउनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ”, श्रेष्ठले भन्नुभयो ।

घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाई गर्न सकिने बताउँदै उहाँले मेहनत गरियो भने राम्रो सफलता हात पर्ने अनुभव सुनाउनुभयो । पछिल्लो समय नयाँ नयाँ  ठाउँबाट ग्राहकको माग धेरै आउने गरेको श्रेष्ठका श्रीमान् रुद्रनारायण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटकको तिहारमा कावासोती, सुनवललगायत विभिन्न नयाँ बजारमा पनि झिनियाँ पु¥याउन सफल भयौँ, व्यवसाय राम्रै छ, उत्पादन गर्न सकेमात्रै भयो, बजारको चिन्ता छैन, अहिले झिनियाँ तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेका छन् ।”

तिहारमा दाजुभाइलाई सप्तरङ्गी टिकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङ्गका झिनियाँ निर्माण गर्न व्यस्त देखिएका छन् । उद्यमीहरु बिहान ३ बजेदेखिनै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् । ‘‘अहिले झिनियाँको माग अत्याधिक छ’’,  रुद्रनारायणले भन्नुभयो, “तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उद्यमीहरुका अनुसार एक हजार ४०० को चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ तयार गर्न सकिन्छ । थोक मूल्यमा दर्जनको एक सय रुपैयाँ तथा फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका यहाँका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त हुने गरेका छन् ।

रामपुर नगरपालिका–४ स्थित सिन्दुरटारका लक्ष्मी श्रेष्ठले झिनियाँको बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु तीन लाखको आम्दानी गर्नुहुन्छ । उहाँले घरमै बसेर पनि राम्रो कमाई गर्न सक्ने, व्यापारमा सहजता र बिक्री सजिलै हुने भएकाले व्यवसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको बताउनुभयो । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी विगतमा तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

तिहारबाहेक विवाह, ब्रतवन्ध, पूजाआजा, माघेसंक्रान्ती, तीजलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरु यो व्यवसायप्रति आकर्षित भएका हुन् । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा पनि ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समयमा झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिलाहरुमा परनिर्भरता हट्दै गएको पाइएको छ । सुशीला रेग्मी/रासस

२०७८ कार्तिक २०, शनिबार प्रकाशित