पहिरो हटाइएपछि बेनी–पोखरा सडक खुल्यो, बेनी–जोमसोम अझै खुल्न सकेन

|

मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने बेनी–पोखरा सडक खण्ड मर्मतपछि फेरि सञ्चालनमा आएको छ । मङ्लवार राति वर्षासँगै पहिरो खसेर बन्द भएको बेनी–पोखरा सडक खण्ड मर्मतपछि आज दिउँसोपछि सञ्चालनमा आएको हो ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवाको तीन ठाउँमा खसेको पहिरोको अवरोध हटाएपछि सडक सञ्चालनमा आएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

बन्द सडक सञ्चालनमा आएपछि बीच बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने सर्वसाधारणलाई पनि आवतजावतमा सहज भएको छ ।

यता हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड भने अझै बन्द छ । यो सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण ३ दानामा रहेको रुप्सेखोला र जलथलेमा खसेको ढुङ्गा, माटो र लेदोसहितको अवरोधलाई हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि रघुगंगा ३ राहुघाटमा सडक बन्द भएको हो । बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रे भिरमा वर्षाका कारण पटक–पटक सडक बन्द हुँदै आएको छ ।

यसैबीच पश्चिम म्याग्दी भेगसहित जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड मर्मतपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

२०७८ असार ३०, बुधबार प्रकाशित