हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
“चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,” गौतमले भने, “हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।” पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उनले बताए । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उनको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उनले बताए ।
पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उनको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यति बेला विकास निर्माण बन्द छ । ratopati