मुस्ताङको पवित्र धार्मिक स्थल मन्दिर मन्दिरमा चढाइएको भेटी बुधबार गणना गरिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल, मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेल, वडाध्यक्ष प्रमेश गुरुङ, मुक्तिनाथका आनी झुमा र पुजारी र त्यहाँ कार्यरत सुरक्षाकर्मीको संयुक्त टोलीले मुक्तिनाथमा राखिएको दान पेटिकाको भेटी गणना गरेको हो ।
मुक्तिनाथमा भक्तजनले स्वेच्छिक रुपमा मन्दिरमा आर्थिक दान गर्नका लागि समितिले ५ वटा दान पेटिका राखेको छ । यसका अलवा समितिमा १ सयभन्दा बढी दान गरी नाम लेख्न चाहनेलाई रसिद काटेर भेटी संकलन गर्ने गरिएको छ ।
यसका लागि समितिले कर्मचारीको व्यवस्था मिलाएको छ । पछिल्लो समय मुक्तिनाथमा स्वेच्छिक दान गर्न चाहनेले मुक्तिनाथको प्रभु बैंकमा भएको खाताको क्युआर कोर्ड प्रयोग गरी डिजिटल प्रविधिबाट भेटी दान गर्न सक्ने व्यवस्थासमेत छ ।
बुधबार चालु आर्थिक वर्षको ५ महिनामा मुक्तिनाथको ५ वटा भेटी बाकसको रकम गणना गरिएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेलले जानकारी दिए । चालु वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा १४ लाख ७ हजार ७ सय रुपैयाँ भेटी बाकसमा जम्मा भएको सदस्य सचिव भुजेलले बताए ।
जसमध्ये ५ लाख ५६ हजार नेपाली र ५ लाख ३१ हजार भारतीय रुपैयाँ जम्मा भएको उले जनाए । यसका अतिरिक्त अस्ट्रेलियन डलर २ सय ५०, मलेसियन १ सय र अमेरिकन डलर १ दानपेटिकामा जम्मा भएको उनले उल्लेख गरे ।
गत आर्थिक वर्ष २ पटक मुक्तिनाथमा राखिएको दान पेटिकाको भेटी गणना गर्दा १७ लाख ६९ हजार भेटी रकम जम्मा भएको थियो । चालु वर्षको भेटी गणनामा प्रभु बैंकमा सिधै जम्मा भएको भेटी र कर्मचारीले संकलन गरेको चन्दा भेटीको गणना नभएको सदस्य सचिव भुजेलले बताए ।
‘भेटी, चन्दा उठाएको रकमको लेखा परीक्षण भएको छैन, यसको लेखा आवको अन्तिममा हुन्छ,’ सदस्य सचिव भुजेलले भने, ‘सबै हिसाब एकीकृत गर्ने र कर्मचारीको खर्च कटाएपछि मात्र मुक्तिनाथको आम्दानी थाहा लाग्छ ।’
गत वर्ष मुक्तिनाथमा दान पेटिका बाकसबाहेक कर्मचारीले नगद रसिद काटेर १ करोड ३ लाख २९ हजार रकम मुक्तिनाथ विकास समितिको कोषमा जम्मा भएको थियो । गत आर्थिक वर्षसम्ममा मुक्तिनाथको भेटी ६ करोड ९१ लाख आर्थिक मौज्याद थियो ।
जसमध्ये बैंकमा ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको रकम ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याजको रकम जोडेर करिब ७ करोड रकम मुक्तिनाथ विकास कोषको खातामा मौज्यात रहेको सदस्य सचिव भुजेलले उल्लेख गरे ।
२०६४ साल सालको सेरोफेरोमा सिडिओको अध्यक्षतामा मुक्तिनाथ विकास समिति गठन गरिएको थियो । मुक्तिनाथ मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग गराउने उद्देश्यले मुक्तिनाथ विकास समिति गठन गरिएको हो ।
तर, समिति गठन भएको विगत ३ वर्षअघिबाट मुक्तिनाथको आम्दानी र खर्च सार्वजनिक गर्न थालिएको हो । मुक्तिनाथ रेखदेखका लागि स्थानीय बासिन्दा बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ ।
मुक्तिनाथ मन्दिरमा एक जना पुजारीसहित ४ कर्मचारीलाई त्यहाँको रेखदेख तथा व्यवस्थापनमा खटाइएको छ । जसमा १ जना रसिद काट्ने कर्मचारी र अन्य २ जना सरसफाइकर्मी रहेको सदस्य सचिव भुजेलले बताए । । उनीहरुका लागि बर्सेनि ८ लाख १५ हजार खर्च हुने गरेको छ । समाधान दैनिक